इरानका ५२ स्थानमा आक्रमण गर्छौं : ट्रम्प



तेहरान, (एजेन्सी)।

अमेरिकी ड्रोन आक्रमणमा इराकको विमानस्थलमा मारिएका इरानी सैनिक कमान्डर कासेम सोलेमानीको शव आइतबार इरान ल्याइपुर्याइएको छ। इरानी सञ्चार माध्यमले सार्वजनिक गरेका फुटेजहरूमा उनको सम्मानमा इरानी शहर अहभाजका सडकमा हजारौं मानिस भेला भएको देखिन्छ।जनरल सोलेमानीको अन्त्येष्टी उनकै गृह नगर केर्मानमा मंगलबार गरिने भएको छ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले अमेरिकी जनता र भौतिक पूर्वाधारलाई लक्षित कुनै आक्रमण गरेको खण्डमा अमेरिकाले तत्कालै निकै तीव्र गति र कडा ढंगले इरानका ५२ स्थानमा आक्रमण गर्ने कडा चेतावनी दिएका छन्।इरानले सोलेमानीको हत्या गरेर अमेरिकाले ठूलो गल्ती गरेको र त्यसको बदला लिने प्रतिबद्धता जनाएको थियो।

इरानको सो चेतावनीलाई जवाफ दिने क्रममा ट्रम्पले इरानका सांस्कृतिक र अन्य अर्थले महत्वपूर्ण ५२ स्थानमा हमला गर्ने चेतावनी दिएका हुन्। साथै ट्रम्पले हाहतियारमा खर्बौं डलर खर्च गरिसकेको र इरानमाथिको आक्रणमा अत्याधुनिक नयाँ हतियारप्रयोग गरिने पनि बताएका छन्।

ट्रम्पले सन् १९७९ मा तहरान स्थित अमेरिकी दूतावासबाट नियन्त्रणमा लिएर एक वर्षभन्दा लामो समय बन्धक बनाइएका ५२ जना अमेरिकीको नाममा आक्रमणका लागि इरनका ५२ वटा स्थान छानिएको पनि बताएका छन्। ट्रम्पले यसवारे ट्विट गरेको केही समयपछि नै आफूलाई ‘इरान साइबर सेक्योरिटी गु्रप ह्याकर्स ’ बताउने समूहले अमेरिकी सरकार निकायको वेवसाइट ह्याक गरेको थियो।

यसैबीच अमेरिकाकै दर्जनौं शहरमा शनिबार हजारौं अमेरिकीहरुले इरानी जनरल मारिएको तथा ट्रम्प सरकारको मध्य पूर्वमा थप हजारौं सेना पठाउने निर्णयको विरोध गर्दै प्रदर्शन गरेका छन्।७० वटाभन्दा स्थानमा प्रस्तावित गरिएको त्यो प्रदर्शन कोडपिंक र ‘युद्ध र नश्लवादको तत्काल अन्त्य गर’ भन्ने समूहले आयोजना गरेका थिए।

यसैबीच आइतबार इस्लामिक लडाकू समूह अल– सबाबाले चर्चित केन्याली तटीय क्षेत्र लामुमा रहेको केन्याली र अमेरिकी फौजले प्रयोग गर्दै आएको वायु सैनिक अखडामा आक्रमण गरेका छन्। तर केन्याली सेनाले भने ती लडाकूलाई लखेटेर पठाइएको दाबी गरेको छ। अर्का अन्तर्राष्ट्रिय लडाकू समूह अल कायदासँग आबद्ध रहेको अल सवावको मुख्यालय केनयाको छिमेकी मुलुक सोमालियामा रहेको छ।

यता अमेरिकी हवाई आक्रमणमा इरानी कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि इरानले अप्रत्यक्षरूपमा युद्धको घोषणा गरेको छ। शनिबार बिहान इरानले जामकरन मस्जिदमाथि रातो झण्डा फहराएर युद्धको लागि देशभर सतर्कता जारी गरेको हो।

तनावपूर्ण थितिमा यसरी रातो झण्डा फहराउनुलाई ‘युद्धको लागि तयार रहनू, युद्ध शुरू भइसकेको छ’ भन्ने सन्देश दिएको बुझिने बताइएको छ। स्थानीय सञ्चार माध्यमअनुसार इरानले यसरी मस्जिदमा रातो झन्डा फहराएको पहिलो पटक हो।

बेलायती मिडिया मेट्रोका अनुसार कोमस्थित जामकरन मस्जिदको डोममा सधैं धार्मिक झन्डा फहराइन्थ्यो। अहिले भने त्यो धार्मिक झन्डा हटाएर रातो झन्डा फराइएको छ जलाई युद्धको घोषणाको रूपमा लिइएको छ किनकि रातो झन्डाको अर्थ दुःख जनाउनु हुँदैन।यसरी झन्डा फराउनुको अर्थ इरानले आफ्ना देशवासीलाई त्यो स्थितिको लागि तयार रहन भनेको छ। यसअघि इरान र इराकको युद्धको बेला पनि यसरी रातो झन्डा फहराइएको थिएन।

प्रतिक्रिया दिनुहोस्