अष्ट्रेलियामा आगलागीबाट २५ जना, ५० करोड जिवजन्तु मृत्यु



काठमाडौँ ।

आगलागीको जटिल संकटमा जुधिरहेको अष्ट्रेलियामा ह्वात्तै बढेको तापक्रमबाट त्यहाँको जनजीवन संकटग्रस्त बनेको छ । दक्षिणी अष्ट्रेलियाको आकाश नै राताम्ये देखिन थालेको छ ।
मानिसहरु त्रस्त देखिन्छन् । आगामी २४ घन्टा सबैभन्दा खराब र भयानक रहने अग्निनियन्त्रकहरुले जनाएका छन् । १ सय ४६ ठूला आगोको लप्काले शहरहरु घेरिरहेको छ । करिब तीन हजार अग्निनियन्त्रक आगो नियन्त्रणको प्रयासमा अनवरत संघर्षरत छन् ।

आगोमा परेर २५ जनाले ज्यान गुमाइसकेको, १५ सयभन्दा धेरै घर जलेको र करोडौं एकड जमीन आगोले ध्वस्त भएको अन्तर्राष्टिय समाचार संस्थाहरुले जनाएका छन् । अहिलेसम्म ५० करोड जनावर जलेको युनिभर्सिटी अफ सिड्नीका इकोलोजिस्टहरुले जनाएका छन् ।

आगो नियन्त्रणका लागि गरिएका सम्पूर्ण प्रयासहरु निरर्थक हुँदै गएका छन् । क्षति कम गराउन मानिसहरुलाई समुद्री किनारामा गएर बस्न अष्ट्रेलिया सरकारले अपील गरेको छ । दक्षिणपूर्वी अष्ट्रेलियाका हजारौं बासिन्दा समुद्री किनारमा सरिसकेका छन् भने अन्यत्रका प्रभावित पनि विकल्प खोज्दैछन् ।

आगो निभाउन मात्र एक करोड पाउण्ड छुट्याइएको बीबीसीले जनाएको छ । न्यू साउथ वेल्सको करिब १० करोड एकड, भिक्टोरियामा करिब ६ हजार हेक्टर जमिन जलिसकेको जनाइएको छ भने एक हजारभन्दा धेरै घर खरानी भएको छ । २ लाख ६४ हजार हेक्टर आगोले भष्म बनाएको समाचारहरुमा उल्लेख छ ।

डिसेम्बरको मध्यदेखि नै अष्ट्रेलियामा उष्णता बढ्दै गए पनि आगलागी ब्यहोरिरहेका चार राज्यमा तापक्रम बढेर ४९ डिग्रीसम्म पुगेको जनाइएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनले आगो निभाउन थप तीन हजार सैनिक पनि तैनाथ गर्ने जनाए पनि उनीसँग आगलागी पीडितहरु रिसाएका छन् ।

बेलैमा आगो नियन्त्रणको प्रयास नगरेको र मुलुक आगोको लप्कामा परिरहेका बेला अमेरिकामा बिदा मनाउन गएको भन्दै उनीप्रति पीडितहरुले आक्रोश पोखेका हुन् ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्