जनरल हत्याको बदलामा इरानले संसारभर हाहाकार मच्चाइदिन सक्छ



एजेन्सी, अमेरिका र इरानका बीचमा तनाव नयाँ होइन तर शुक्रबार बिहान इराकको बगदादमा अमेरिकाले इरानी सेना प्रमुखलाई मारिदिएपछि भने यो तनाव उत्कर्षमा पुगेको छ ।

आज भएको अमेरिकी आक्रमणमा इरानका कुड्स फोर्सका प्रमुख मेजर जनरल कासिम सुलेमानी, इराकी मिलिसिया कमाण्डर अबू महदी अल मुहांडिससहित ७ जनाको ज्यान गएको छ । यससँगै अमेरिका र इरानबीच तनाव निकै बढ्ने अनुमान गरिएको छ ।

यसअघि पनि अमेरिका र इरानबीच तनाव बढ्दा फारसको खाडीमा गम्भीर परिणाम देखिएका छन् । फरसको खाडीमा गडबढी भयो भने यसको परिणाम पूरै विश्वले भोग्नुपर्छ । अहिलेको तनावपछि इरानले तत्कालै ‘स्ट्रेटस अफ हर्मुज’ बन्द गरिदिने चेतावनी दिन सक्छ । यदि हर्मुज बन्द भयो भने पूरै संसारभर हाहाकार हुनेछ ।

संसारभरको तेल धमनी मानिने हर्मुज बन्द भयो भने संसारभरको तेल सप्लाइ प्रभावित हुनेछ । यदि इरानले हर्मुज बन्द गरिदियो भने विश्वभर तेलको हाहाकार मच्चिने निश्चित छ किनकि ठूलो परिमाणमा तेल निर्यात गर्ने ६ वटा खाडी देशले यही बाटो भएर तेल निर्यात गर्छन् ।

साउदी अरब, इराक, युएइ, कुवेत, कतार र इरानको अधिकांश तेल निर्यात हर्मुजको बाटो भएरै हुन्छ । यहाँबाट प्रत्येक दिन करिब १ करोड ५० लाख ब्यारल तेल बाहिरिन्छ ।

यदि यो बन्द भयो भने सबैभन्दा धेरै यन्धन खपत गर्ने अमेरिकासहितका देशहरुमा तेलको हाहाकार हुनेछ । यसले तेलको मूल्य त बढ्छ नै साथमा खाडी देशहरुबीचको सम्बन्ध बिग्रिनेछ र संघर्षको स्थिति उत्पन्न हुनेछ ।

अमेरिका र इरानबीचको अहिलेको तनावले अर्को खाडी युद्धको समेत संकेत गरेको छ । यदि यस्तो भयो भने एसियाका २ शक्तिशाली देश चीन र भारतको लागि कठिन परिस्थिति सृजना हुनेछ ।

उनीहरुका अगाडि ऊर्जा सुरक्षाका विषयमा नयाँ चुनौती थपिनेछ । यसअघि पनि १९८०–१९८८ मा इरान र इराकबीच भएको युद्धमा दुवै देशले एक अर्काको तेल निर्यातलाई निशाना बनाएका थिए । यसलाई मिडियामा ‘ट्यांकर वार’ नाम दिइएको थियो । त्यतिबेला पनि हर्मुजमा तेल व्यापार ठूलो मात्रामा प्रभावित भएपछि अमेरिकाले खाडीमा आफ्ना युद्धपोत उतारेको थियो ।

प्रतिक्रिया दिनुहोस्