भारत–पाकबीच परमाणु जानकारी आदान प्रदान



इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानले आफ्नो परमाणु स्थलहरुको एक सूची भारतलाई बुझाएको छ। सन् १९८८ डिसेम्बर ३१ मा भारत र पाकिस्तानबीच भएको एक सम्झौताअनुसार दुवै देशले आ–आफ्नो परमाणु प्रतिष्ठानका बारेमा एक अर्कालाई जानकारी उपलब्ध गराउनुपर्नेछ।

परमाणुस्थल तथा प्रतिष्ठानमाथि हुन सक्ने आक्रमण रोक्न गरिएको उक्त सम्झौताको अनुच्छेद २ अनुसार सूची भारतीय उच्चायोगका एक अधिकारीलाई सुम्पिएको हो।

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार नयाँ दिल्लीमा विदेश मन्त्रालयले भारतीय परमाणु प्रतिष्ठानको सूची बिहान पाकिस्तानको उच्चायोगका एक प्रतिनिधिलाई बुझाएको थियो।

सम्झौताअनुसार दुवै देशले हरेक वर्षको जनवरी १ मा एकअर्कालाई परमाणु केन्द्र तथा प्रतिष्ठानको सूचना दिनु अनिवार्य हो। सन् १९९२ देखि लगातार यस प्रकारको आदानप्रदान गरिरहेको विदेश मन्त्रालयले जनाएको छ।

सन् १९९८ मा भारतले परमाणु हतियारको परीक्षण गरे लगत्तै पाकिस्तानले पनि आफ्नो परमाणु बमको परीक्षण गरेको थियो। सन् १९४७ मा स्वतन्त्रता प्राप्त गरेपछि दक्षिण एसियाका यी दुई परमाणु शक्ति सम्पन्न देशबीच तीनवटा युद्ध भइसकेको छ।

पछिल्लो वर्षमा दुई देशबीचको तनावपूर्ण सम्बन्धले गर्दा युद्ध हुन सक्ने सम्भावनालाई नकारेको छैन। दुवै देशले युद्धको स्थितिमा परमाणु हतियारको प्रयोग हुने चेतावनी पनि दिने गरेका छन्।

पाकिस्तानसँग कम्तिमा १ सय ६० परमाणु हतियार रहेको अनुमान गरिएको छ भने भारतसँग कम्तिमा १ सय ४० रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्