भारतीय विश्वविद्यालयमा भूतविद्या पढाइने



नयाँदिल्ली, (एजेन्सी)।

भारतको एक प्रतिष्ठित विश्वविद्यालयले भूत देखेको वा आफूभित्र प्रेतात्मा छिरेको भन्नेहरुलाई उपचार गर्ने छुट्टै विषयमा पनि डाक्टरलाई प्रमाणपत्र दिने भएको छ। उत्तरी शहर वारणसीस्थित बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) मा जनवरीदेखि उक्त छ महिने कोर्समा पढाइ हुन लागेको बताइएको छ।

अधिकारीहरुले यो कोर्स प्रायशः रहस्यमय घटनाहरुको भ्रम हुने साइकोसोमाटिक डिसअर्डरमा केन्द्रित रहने बताएका छन्। यो कोर्स प्राचीन हिन्दू औषधि उपचार प्रणाली आयुर्वेद विभागले सञ्चाल गर्न लागेको हो। बीएचयूको एकजना अधिकारीले विश्वविद्यालयमा भूतविद्या (भूत अध्ययन) नामक छुट्टै कक्षा खडा गरेको समाचार निकाय इयान्सलाई बताएका छन्।

आयुर्वेद विभागका डीन यामिनी भूषण त्रिपाठीले मन वा दिमागका ेअवस्थाले र अज्ञात कारणले हुने साइकोसामाटिक डिसअर्डर रोगहरुको उपचारका लागि यो भूतविद्यालाई प्रयोग गरिने जानकारी दिएकी छिन्।

भूतसम्बन्धी रोगहरुको आयुर्वेदिक विधिबाट उपचार गर्नका लागि डाक्टरलाई भूत विद्या सिकाउने यस प्रकारको पाठ्यक्रम राख्ने यो भारतकै पहिलो विश्वविद्यालय भएको पनि त्रिपाठीले बताएकी छिन्।

आयुर्वेदिक थेरापीमा सामान्यतया जडिबुटी औषधि, आहार परिवर्तन, मसाज, श्वासप्रस्वास र अन्य किसिमका शारीरिक व्यायमहरु हुन्छन्। सन् २०१६ मा स्नायु विज्ञान तथा मानसिक स्वास्थ राष्ट्रिय प्रतिष्ठानले गरेको अध्ययनअनुसार झण्डै १४ प्रतिशत भारतीय मानसिक रूपमा रोगी रहेका छन्।

यसैगरी सन् २०१७ मा विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ ) ले करिब २० प्रतिशत भारतीय जीवनको कुनै मोडमा डिपे्रसनको शिकार हुन सक्ने जनाएको थियो। तर १ अर्ब ३० करोड जनसंख्या रहेको भारतमा ४ हजारभन्दा कम संख्यामा मानसिक स्वास्थ विशेषज्ञ रहेका छन् भने मानसिक रोगसम्बन्धी सचेतना पनि कमै रहेको बुझिएको छ।

साँघुरो समाजिक सोचका कारण मानिसहरु आफ्नो मानसिक रोगको उपचारको त कुरै छाडौं आफूलाई त्यस्ता रोग लागेको तथ्य सार्वजनिक गर्न समेत हिच्किचाउँछन्। विशेष गरी ग्रामीण क्षेत्रका गरिब भारतीय जनता यस्ता मानसिक रोगको उपचारका लागि धामीझाँक्रीको शरणमा पर्ने गरेका छन्।

भारतका सामाजिक सञ्जालहरुमा सरकारी स्वामित्व रहेको बीएचयूमा हुन लागेको भूतविद्याको पढाइलाई लिएर अधिकांश प्रयोगकर्ताले मानसिक रोगका लागि औषधि र पुनस्र्थापना केन्द्रहरु बढी उपयुक्त हुने सुझाव पेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस्