अस्ट्रेलियामा भीषण डढेलो

न्यू साउथ वेल्समा कम्तिमा ८ को मृत्यु, २ सय घर नष्ट



मेलबर्न, (एजेन्सी)।

अस्ट्रेलिया सरकारले न्यू साउथ वेल्स र भिक्टोरिया प्रान्तमा जंगलमा लागेको भीषण आगोका कारण आपतकालीन स्थितिको घोषणा गरेको छ। सरकारले डढेलो लागेको इलाकामा जाने सडक बन्द गरेको छ।डढेलो प्रभावित क्षेत्रबाट वासिन्दा र पर्यटकलाई सुरक्षित स्थानतर्फ सारिएको छ।

शनिबारसम्ममा आगो अझै फैलिन सक्ने आशंका व्यक्त गरिएपछि उक्त कदम चालिएको हो। नयाँ वर्षको पूर्वसन्ध्यामा देशको पूर्वहिस्सामा भीषण आगलागीमा कम्तिमा ८ जनाको मृत्यु भएको थियो। विदा मनाउन गएका कयौं फसेका थिए।

न्यू साउथ वेल्स सरकारले शुक्रबारदेखि एक हप्ताका लागि आपत्कालीन स्थितिको घोषणा गरेको छ। प्रशासनले नागरिकलाई प्रभावित इलाकाबाट आफैं निस्कन सक्ने स्थितिमा त्यहाँबाट सुरक्षित स्थानमा जान अपील गरेको छ।

न्यू साउथ वेल्समा आगोबाट ४० लाख हेक्टर बाली नष्ट भएको छ। प्रान्तका प्रधानमन्त्री ग्लोडेस बेरेजिकलियानले नागरिकको सुरक्षा सुनिश्चित गरेकोमा प्रहरीलाई धन्यवाद दिए।

अस्ट्रेलियका प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियको उत्र्सजन घटाउने नीतिअन्र्तगत पर्यावरणको रक्षाका लािग उचित कदम उठाउने बताए। आगलागी भएका ठाउँमा अधिक संख्यामा जहाज तथा हेलिकप्टरलाई आगो नियन्त्रणको काममा लगाउन क्याबिनेटको राष्ट्रिय सुरक्षा समितिको बैठक बस्ने उनले बताए।

यसबीच भिक्टोरिया प्रान्तमा प्रशासनले इस्ट गिप्सल्यान्ड विशेष गरी राज्यका पू्र्वी इलाकाका नागरिकलाई डढेलो लागेको इलाकाबाट बाहिर निस्कन अपील गरेको छ।

ती इलाकामा आगामी दिनमा स्थिति अझ खराब हुन सक्ने अनुमान गरिएको छ। भिक्टोरियामा एक व्यक्तिको मृत्यु भएको छ भने १७ व्यक्ति बेपत्ता अवस्थामा छन्।

न्यू साउथ वेल्समा सात जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने त्यहाँ २ सयभन्दा धेरै घर जलेर नष्ट भएका छन्। अस्ट्रेलियाको यो पटकको आगलागी शताब्दीकै सबैभन्दा भीषण र विनाशकारी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्