उत्तर कोरियाको नयाँ हतियार नीतिको चेतावनी



सोल, (एजेन्सी)।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफूले संयुक्त राज्य अमेरिकासँगको निशस्त्रीकरण वार्ताको दौरान आणविक र लामो दुरीको क्षेप्यास्त्र परीक्षण कार्य स्थगित राख्न गरेको निर्णयलाई अन्त्य गर्न लागेको बताएका छन्।

साथै उनले सत्तारुढ वकर्स पार्टीको महत्वपूर्ण बैठकको दौरानमा आफ्नो मुलुकले नयाँ हातहतियारसम्बन्धी नीति लागू गर्न लागेको जानकारी पनि दिएका छन्।

तर उनले निशस्त्रीकरणसम्बन्धी वार्ताका लागि अझै ढोका खुलै रहेको तथा कुनै पनि हातहतियार परीक्षणको सम्भावना अमेरिकाको व्यवहारमा भरपर्ने बताएका छन्।

उत्तर कोरियाले आफ्नो सम्पूर्ण आणविक कार्यक्रम नत्यागेसम्म प्योङयाङमाथिको आर्थिक नाकाबन्दी हटाउन वासिङटनले अस्वीकार गरेकाले वर्षौदेखि निशस्त्रीकरण वार्ताले ठोस उपलब्धि हासिल गरेको छैन। सन् २०१९ मा भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच भएको वार्ता पनि निष्कर्षविहीन भएको थियो।

सन् २०१९ मा उत्तर कोरियाले थुप्रै स–साना हातहतियार परीक्षण गरेको थियो। तयसको प्रमुख उद्देश्य उत्तरको आफूलाई नाकाबन्दीमा छुट दिलाउन अमेरिकामाथि दवाब दिनु रहेको जस्तो देखिन्थ्यो।

वास्तवमा उत्तर कोरियाले अमेरिकाको मुख्य भूमिसम्म मार हान्न सक्ने अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आइसीबीएम) परीक्षण र आणविक परीक्षण नगर्ने घोषणा गरेर उत्तर कारियाले अमेरिकासँग वार्ताका लागि वातावरण बनाएको थियो।

प्योङयाङले सन् २०१७ यता यस्तो परीक्षण भने गरेको छैन। बुधबार प्योङयाङमा पार्टी नेताहरूको चारदिने बैठक समाप्त भएको हो। उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले किमको भनाइ उल्लेख गर्दै अमेरिकाले दक्षिण कोरियासँगको वार्षिक संयुक्त सैनिक अभ्यासलाई जारी राखेको र नाकाबन्दीलाई थप्दै निरन्तरता दिएकाले उत्तर कोरियाले अब आफू स्वघोषित हातहतिया परीक्षण स्थगन नीतिप्रति आवद्ध भइरहन आवश्यक नरहेको जनाएको छ।

अमेरिका र दक्षिण कोरियाबीचको यस्तो नियमित सैनिक अभ्यासलाई उत्तर कोरियाले आफूविरुद्धको युद्धको तयारीको रूपमा लिने गरेको छ। किमले निकट भविष्यमा नै विश्वले उत्तर कोरियाको नयाँ हतियार नीति देख्ने चेतावनी दिएपनि यसबारे थप कुरा स्पष्ट पारेको छैन।

प्रतिक्रिया दिनुहोस्