जापानमा लाससहितको ‘भुत डुंगा’ भेटियो



टोक्यो, (एजेन्सी)।

जापानको एउटा समुद्री तटमा क्षतिग्रस्त डुंगाभित्र पाँचवटा शव र दुईवटा मानव खोपडी भेटिएका छन्। शुक्रबार राजधानी टोक्योदेखि उत्तर पश्चिममा पर्ने साडो टापुमा समुद्रको छालले बगाइल्याएको उक्त डुंगामा शनिबार मात्र स्थानीय सरकारी निकायको पहुँच पुगेको हो।

प्रहरीले ती दुईवटा टाउको लासकै हुन् वा होइनन् स्पष्ट पार्न सकेको छैन। तर जापानी सञ्चारमाध्यमले ती शव आंशिकरूपमा कंकाल भइसकेको जनाएको छ। डुंगाको प्रारम्भिक अनुसन्धानबाट पीडितहरू लामो समयदेखि समुद्रमा रहेको संकेत प्राप्त भएको छ।

जापानी सागर किनाराहरूमा समय समयमा भेटिने ‘भुत डुंगा’ नाम दिइएका यस्ता डुंगा उत्तर कोरियाबाट आउने गरेको विश्वास गरिएको छ। अहिले भेटिएको डुंगामा पनि कोरियाली अक्षर अंकित रहेको बताइएको छ। त्यसरी भेटिने डुंगा खाली हुने वा कुनैमा मानव अवशेष पाइने गर्दछ।

जाडो वा भोकको कारण प्रायशः डुंगाका चालकदलको मृत्यु हुने अनुमान गरिन्छ। विगतमा भेटिने यस्ता भुत डुंगामा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको तानाशाहीको कारण त्यहाँबाट भोगेका वा किमकै जासुसहरूको शव भेटिने गरेको अनुमान गरिन्थ्यो।

साथै अति गरिबीका कारण आफ्नो घरदेखि अत्यन्तै टाढा टाढासम्म माछा मार्न पुग्दा मानिसहरू यस्तो दुर्घटनामय स्थितिमा पुग्ने गरेको पनि बताइन्छ।

सन् २०१७ मा अलपत्र अवस्थामा भेटिएको उत्तर कोरियाको एउटा माछा मार्ने डुंगामा चालक दललाई जीवित अवस्थामा फेला पारिएको थियो।

प्रतिक्रिया दिनुहोस्