अफरोड च्याम्पियनसिप ट्रफी काठमाडौंका तामाङलाई



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा पहिलोपटक आयोजित साइक्लिङ अफरोड च्याम्पियनसिपमा काठमाडौंका बुद्धिबहादुर तामाङ च्याम्पियन भएका छन् । पचास हजार नगदसहित उनले मेडल, ट्रफी प्राप्त गरेका छन् ।
च्याम्पियनको दोस्रो स्थानमा काठमाडौंकै सुरज रानामगर भए । उनले नगद ३० हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरे । तेस्रो हुनेमा काठमाडौंका लक्ष्मण मल्ल छन् । उनले नगद २० हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् ।
जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले विजेतालाई पुरस्कार बितरण गरेका थिए । हेटौंडा राइडर्स क्लबको आयोजनामा भएको च्याम्पियनसिप प्रतियोगितामा ४ महिलासहित ४१ जनाले सहभागिता जनाएका थिए । कार्यक्रमको अवसरमा महिला सहभागीलाई साइकल हेल्मेट प्रदान गरी हौसला बढाइएको थियो ।
च्याम्पियनसिपमा ४० वर्ष उमेरमाथिका राइडर्समध्ये हेटौंडाका राजु गुप्तालाई हौसला पुरस्कार २० हजार बराबरको साइकल प्रदान गरिएको थियो । भ्रमण वर्ष २०२० को अवसरमा च्याम्पियनसिप आयोजना गरी मकवानपुरगढी परिक्रममापछि टोली हेटौंडा फर्किएको थियो ।
प्रतियोगितामा देशका विभिन्न शहर हेटौंडा, काठमाडौं, दाङ, धरान, निजगढ, सिमरा र चितवनका गरी राष्ट्रियस्तरका साइक्लिष्टको सहभागिता थियो । भीमफेदी गाउँपालिकाको सामरीपुलबाट सुरु भएको च्याम्पियनसिपमा सहभागीहरु मकवानपुरगढी–५ र ६ साबिक आमभञ्ज्याङको डुम्रेकुनाबाट वडा–२ को बाँसपानी हँुदै शिखरकटेरी–३ को मक्राञ्चुली पुगिने रुट रहेको क्लब अध्यक्ष विकास ताम्राकारले बताए ।
मक्राञ्चुलीबाट हेटौंडा–५ को पिप्ले निस्केर सानोपोखरा हुँदै हुप्रचौरमा सञ्चालन भएको सडक खाना महोत्सवमा पुगी प्रतियोगिता समापन भएको थियो । करिब २८ किलोमिटर दुरीमा प्रतियोगिता भएको हो ।

प्रतिक्रिया दिनुहोस्