रिचार्ज कार्डको नम्बर मेटिए पनि प्रयोग गर्न सकिने



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल टेलिकमका रिचार्ज कार्डमा रहेको नम्बर मेटिएर देख्नै मुस्किल भए पनि प्रयोग गर्न सकिने भएको छ । अब कार्ड स्क्र्याच गर्दा पिन नम्बर बिग्रिए पनि रिचार्ज गर्न सकिनेछ । पिनको अधिकांश नम्बर मेटिएर कम्तिमा ६ वटा नम्बर बाँकी रहेको अवस्थामा रिजार्ज गर्न सकिने व्यवस्था मिलाएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार ग्राहकले पहिलो चरणमा कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सक्नेछन् । कार्डको पिन नम्बर प्रस्ट नभए वा कोरिए ग्राहकले नम्बर बिग्रिएको कार्डको सिरियल नम्बर, कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनुपर्छ । यसका लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्ने वा सीधै पिन रिकभरीको वेबसाइटमा लगअन गर्नुपर्छ ।

रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बरमध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ । यसरी देखिने नम्बरलाई कार्डमा लेखिएको अवस्थामा राख्नुपर्छ र मेटिएको अंकमा एक्स्ट्रिक (*) चिह्न राख्नुपर्छ ।

उदाहरणका लागि पिन नम्बरको फर्म्याट १२३४५६७८९०१२३४५६ छ र बीच–बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १**४**७***१२**५* संरचना बमोजिम राख्नुपर्छ ।

यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ । योभन्दा बढी पटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुँदैन र रिचार्ज कार्ड साट्न कम्पनीको काउन्टरमै जानुपर्ने टेलिकमले जनाएको छ ।

कम्तिमा ६ अंक पनि नदेखिए साट्न वा रिचार्जका लागि काउन्टरमै जानुपर्ने बताइएको छ । यसअघि सबै प्रकारका कार्ड साट्न कम्पनीको काउन्टरमै पुग्नुपर्ने बाध्यता थियो । अब यो झन्झट हटेको छ । काउन्टरमा गएपछि यसको जाँच गरी सोही मूल्यको नयाँ रिचार्ज कार्ड दिने व्यवस्था छ । वेबसाइटबाटै ग्राहकले आफंै रिचार्ज गर्ने व्यवस्थाले सेवाग्राहीलाई निकै सहज हुने अपेक्षा टेलिकमको छ ।

भविष्यमा कम्पनीको एप ‘नेपाल टेलिकम’ र सर्ट कोडमार्फत एसएमएस पठाएर समेत रिचार्ज कार्ड साट्न सकिने व्यवस्था मिलाइने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्