अल्वानियामा शक्तिशाली भूकम्प, चौधको मृत्यु



टिराना, (एजेन्सी)।

अल्वानियामा मंगलबार आएको ६ दशमलव ४ रिक्टर स्केलको शक्तिशाली भूकम्पका कारण कम्तिमा १४ जना मानिसको ज्यान गएको छ भने अन्य थुप्रै व्यक्ति ढलेका भवनका भग्नावशेषमा पुरिएका छन्।

रक्षा मन्त्रालयका महिला प्रवक्ताले आत्तिएर झ्यालबाट हामफल्दा एकजना पुरुषको ज्यान गएको बताएकी छिन्।
मंगलबार बिहान सबेरै राजधानी टिरानादेखि करिब ३४ किलोमिटर उत्तर पश्चिमी भागमा भूकम्प आएको हो।

त्यसको केही घन्टापछि बोस्नियाको मोस्टार शहरमा अर्को भूकम्प आएको थियो। तर त्यहाँ केकति क्षति भयो भन्नेबारे कुनै खबर प्राप्त भएको छैन।अल्वानियाका प्रधानमन्त्री एडी रामाले ट्विटरमा लेखेका छन्, ‘हामी पीडित भएका छौं।

भूकम्प प्रभावित क्षेत्रमा यथासक्य छिटो उद्धार र मानवीय राहत सेवा पुर्याइरहेका छौं।’ ६ सयजना भन्दा घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको र तीमध्ये केहीको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्ने सम्भावना रहेको सञ्चार माध्यमले जनाएको छ।

सरकारी अधिकारीहरुले टिराना र समुद्र तटीय शहर डुर्रेसमा मात्र ३ सय जना भन्दा बढी घाइते भएको बताएका छन्। सरकारले अस्तव्यस्तताका कारण एक दिन सम्पूर्ण विद्यालय बन्द गर्ने घोषणा गरेको छ।

आपत्कालीन उद्धारमा संलग्न कर्मचारीहरुले आफ्नो नातिको ज्यान जोगाउन उनलाई आफ्नो शरीरले छोपेर बसेको अवस्थामा एक वृद्धाको लाश फेला परेको बताएका छन्।सन् १९७९ मा अल्वानियामा आएको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पमा १ सय ३६ जना मानिसको ज्यान जानुका साथै अन्य १ हजार जनाभन्दा बढी घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्