नेपालमा चीनले दियो लाइफ सपोर्ट मेडिकल उपकरण सञ्चालन र मर्मत तालिम



विश्व प्रख्यात मेडिकल उपकरण निर्माणकर्ता मिन्द्रे तथा जनरल मेडिकल सप्लायर्स प्रालिको संयुक्त आयोजनामा बायोमेडिकल इन्जिनियरिङ एसोसियसन र बायोमेडिकल इन्जिनियरिङ फाउन्डेसन नेपालको सहकार्यमा प्रथम उच्चकोटीको बायोमेडिकल प्रविधि आदानप्रदान र सेवा तालिम कार्यक्रम सफलताका साथ सम्पन्न भयो।

उक्त कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्रकुमार यादवले गर्नुभएको थियो। राज्यमन्त्री यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उहाँले नेपालजस्ता मुलुकमा छिमेकी मुलुकले मेडिकल उपकरणको सही प्रयोग र महत्वका बारेमा दिएको तालिमले भविष्यमा जनस्वास्थ्यमा सुधार ल्याउन मद्दत पुग्ने बताउनुभयो।

नेपालमा बिगत २ दशकको दौरानमा अर्बौं मूल्यबराबरको लाइफ सपोर्ट तथा अन्य उपकरणहरू नेपालका विभिन्न अस्पतालहरूले भित्याई बिरामीहरूको स्वास्थ्य उपचारमा लागि परिरहेका छन्। जसका कारण समयमै उपचार सेवा उपलब्ध भई बिरामीहरूको जीवन दिन सकिएको छ।

तर अति संवेदनशील उपकरणहरूको प्रयोग सही तरिकाबाट गर्न नसकेको खण्डमा त्यस्ता उपकरणबाट जति उपलब्धि प्राप्त गर्नुपर्ने हो त्यति परिणाममा बिरामीहरूलाई सेवा प्रदान गर्न नसक्दा स्वास्थ्य सेवामा प्रत्यक्ष असर पर्ने तालिममा जानकारी गराइयो।त्यसैले यस्ता संवेदनशील उपकरणहरू नेपालका अधिकांश अस्पतालहरूले प्रयोगमा ल्याई बिरामीहरूको स्वास्थ्य सेवामा योगदान गरिरहेका छन्।

अधिकांश अस्पतालहरूले त्यस्ता उपकरणहरूबाट बढीभन्दा बढी उपयोग गर्न सकून् तथा उपकरणको कसरी सेलिब्रेसन गर्ने, उपकरणको प्रयोग र मर्मत सही तरिकाले कसरी गर्ने, प्रभावकारी व्यवस्थापन कसी गर्ने भन्ने जस्ता विषयहरूलाई लिएर चीनबाटै मिन्ड्री कम्पनीका विशेषज्ञहरूको टोली काठमाडौंमा आई अधिकांश अस्पतालका बायोमेडिकल इन्जिनियर्स तथा प्रविधिहरूलाई एकै थलोमा भेला गरी एक दिने गोष्ठी नै गरेको थियो।

उक्त कार्यक्रममा विभिन्न अस्पतालका झण्डै ६० जनाको सहभागिता रहेको थियो। यस्ता प्रकारको गोष्ठीले सही तरिकाबाट लाइफ सपोर्ट मेडिकल उपकरणहरूको सदुपयोग गरी बिरामीहरूको स्वास्थ्य सेवा प्रदान गर्न सकिने जनरल मेडिकल सप्लायर्सका प्रमुख कार्यकारी अधिकृत जयकृष्ण श्रेष्ठले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्