उत्तर कोरियाद्वारा अज्ञात वस्तु प्रक्षेपित



सोल, (एजेन्सी)।

उत्तर कोरियाले दुईवटा अज्ञात वस्तु समुद्रतर्फ प्रक्षेपण गरेको बिहीबार दक्षिण कोरियाली सेनाले जनाएको छ। जापानी रक्षा मन्त्रालयले ती वस्तु ब्यालेस्टिक क्षेप्यास्त्र जस्तो देखिएको दाबी गरेको छ। यदि यो क्षेप्यास्त्र प्रक्षेपण नै भएको पुष्टि भएको खण्डमा यो उत्तर कोरियाको यस वर्षको १२औं क्षेप्यास्त्र प्रक्षेपण हुनेछ।

यसै महिनाको शुरूमा उत्तर कोरियाले एउटा पनडुब्बीबाट नयाँ किसिमको क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। त्यसको प्राविधिक सवल पक्षजस्तै आणविक हतियार बोक्न सक्ने, शत्रु पक्षले पहिल्याउन कठिन हुने तथा पानीमुनिबाट गएर आफ्नो लक्षलाई नजिकबाट प्रहार गर्न सक्ने रहेको बताइएको थियो।

बिहीबारको यो अज्ञात वस्तु सि अफ जापानको नामले पनि चिनिने इस्ट सिमा प्रक्षेपण गरिएको थियो। सोलको संयुक्त सेना सूत्रका अनुसार सो वस्तु उत्तर कोरियाको साउथ प्योन्गानबाट ल्याइएको थियो।

जापानी तट रक्षकहरूले त्यो वस्तु जापानको प्रमुख आर्थिक जलीय क्षेत्रमा खसेको जनाएको छ। दक्षिण कोरियाली सेनाले थप प्रक्षेपणबारे जानकारी हासिल गर्न तयारी गर्ने जनाएको छ।
यसै साताको शुरूमा निधन भएकी दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनकी आमाको अन्त्येष्टिको दिन नै यो प्रक्षेपण भएको हो।

अघिल्लो दिन उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले मुनप्रति गहिरो समवेदना प्रकट गरेका थिए। उत्तर कोरियासँग अमेरिकाको मुख्य भूमिसम्म मार हान्न सक्ने क्षेप्यास्त्र रहेको विश्वास गरिन्छ।

साथै प्याङयाङ आफैंले आफ्नो क्षेप्यास्त्र आणविक बम बोक्न सफल रहेको दाबी गर्ने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक निःशस्त्रीकरणका लागि दुईपटक किमसँग वार्ता गरिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्