ट्रेन आगलागीमा कम्तीमा चौहत्तरको मृत्यु



इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानी शहर कराँचीबाट अर्को शहर रावलपिन्डीतर्फ जाँदै गरेको एउटा यात्रुवाहक ट्रेनमा बिहीबार आगलागी हुँदा कम्तीमा ७४ जना यात्रुको ज्यान गएको प्रहरीले जनाएको छ। रेलवेजमन्त्री शेख रसिद अहमदले यात्रुहरूले नास्ता पकाउन प्रयोग गरिरहेको ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको जानकारी दिएका छन्।

यो आगो कम्तीमा तीनवटा डिब्बामा फैलिएको अनुमान गरिएको छ। सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले अधिकांश व्यक्तिको जल्दै गएको ट्रेनबाट हामफाल्दा ज्यान गएको उल्लेख गरेको छ।

अधिकारीहरूले यस दुर्घटनामा अन्य ४० जना घाइते भएको तथा मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्। पन्जाब प्रान्तदेखि दक्षिणमा पर्ने रहिम यार खान शहर नजिक दुर्घटना भएको हो। अधिकांश यात्रु ताब्लिघी जमात सुन्नी मुस्लिम मिसिनरीद्वारा आयोजित पाकिस्तानको सबैभन्दा ठूलो वार्षिक धार्मिक कार्यक्रममध्ये एकमा भाग लिन जाँदै थिए।

प्रतिक्रिया दिनुहोस्