ब्रेक्जिटको गाँठोः डिसेम्बरमा चुनाव गर्न जोन्सनको फेरि प्रस्ताव



लन्डन । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सङ्कटमा बेलायती संसदमा सहमति जुटाउन असफल भएपछि प्रधानमन्त्री बोरिस जोन्सनले आगामी डिसेम्बर १२ मा संसदको चुनाव गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँको विचारमा नयाँ चुनावले ब्रेक्जिटमा देखिएको गतिरोध अन्त्य हुनेछ ।

पछिल्ला मतसर्वेक्षणहरुले संसदको चुनाव भएमा कन्जरभेटिभ्स पार्टीका नेता समेत रहेका प्रधानमन्त्री जोन्सन नै विजयी हुने देखाएका छन् । विपक्षी दलहरु मध्यावधि चुनाव गर्ने वा नगर्ने अथवा युरोपेली संघ ९इयू० बाट बेलायत बाहिरिने सन्दर्भमा पुनः जनमतसंग्रह गर्ने वा नगर्ने भन्ने विषयमा अन्यौलमै रहेकाले पनि जोन्सनको दल अगाडि देखिएको हो ।

बेलायती जनमत र नेताहरु विभाजित रहेकाले यसको फाइदा जोन्सनलाई पुग्ने अनुमानहरु गरिएका छन् । यसअघि सन् २०१६ मा भएको जनमतसंग्रहमा इयूबाट बेलायत बाहिरिनुपर्छ भन्नेमा झिनो बहुमत थियो ।

प्रधानमन्त्री जोन्सनले इयूबाट बेलायतको बहिर्गमन अपरिहार्य रहेको बताउँदै आउनुभएको छ । झण्डै ५० वर्षदेखि इयूको सदस्यको रुपमा रहेको बेलायतको इयूबाट बहिर्गमनका लागि पटकपटक मिति तोक्ने कार्य हुँदैछ । पछिल्लो पटक यही अक्टोबर ३१ को मिति तोकिएको थियो ।

बेलायत सरकारले आगामी सोमबारसम्ममा निर्वाचनको मिति प्रस्ताव गर्ने र त्यसलाई संसदले अनुमोदन गर्ने विश्वास लिएको छ । इयूले पनि ब्रेक्जिटको लागि नयाँ मिति तय गर्नेछ, अर्थात् करिब तीन महिना म्याद थप गर्ने अनुमान गरिएको छ ।

तर बेलायती विपक्षी सांसदहरुले चुनावका लागि प्रधानमन्त्री जोन्सनले यसअघि गरेका दुई वटा अनुरोधलाई अस्वीकृत गरिसकेको छ । यसैले प्रधानमन्त्रीको नयाँ प्रस्ताव पनि संसदले अनुमोदन गर्ने सम्भावना झिनो छ किनभने चुनाव घोषणा गर्न संसदको दुई तिहाई आवश्यक पर्दछ ।

प्रधानमन्त्री जोन्सनले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनलाई एक पत्र लेख्दै यो म्याद थप्दै जाने हास्यास्पद कार्य बन्द गर्न विपक्ष पनि सहमत हुनुको विकल्प नरहेको बताउनुभएको छ । देशलाई अल्मल्याउने कार्य तत्काल बन्द गर्न उहाँले आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री जोन्सनले फेरि पनि सन् २०२० मा अर्को म्याद थप्ने कुरा स्वीकार्य नहुने बताउनुभयो ।

संसदले मुलुकलाई निरन्तर बन्धक बनाउन हुँदैन, उहाँले भन्नुभएको छ ।

विना सम्झौता ब्रेक्जिट नगर्ने सरकारको प्रष्ट धारणा आए मध्यावधि चुनावका लागि सहमत हुन सकिने धारणा पनि विपक्षी पार्टीले बेलाबखत राख्दै आएका छन् । पार्टीका संसदीय मामिला प्रवक्ता भ्यालेरी भाजले विना सम्झौता ब्रेक्जिटबाट सरकार पछि हटे मध्यावधि चुनावमा पार्टी सहमत हुन सक्ने बताउनुभयो । उहाँले ब्रेक्जिटका लागि समयावधि थप गर्न सरकार सहमत पनि हुनुपर्ने शर्त पार्टीको रहेको स्पष्ट गर्नुभयो ।

एकजना युरोपेली कुटनीतिज्ञले इयूका नेताहरुले ब्रेक्जिटको समयावधि थप गर्ने बारेमा छलफल हुन लागेको जानकारी दिनुभएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्