जिउँदै छात्रा जलाउने १६ लाई मृत्युदण्ड



ढाका, (एजेन्सी)।

बंगलादेशमा एक छात्रालाई जिउँदै जलाएर हत्या गरेको आरोपमा बिहीबार त्यहाँको अदालतले १६ जनालाई मृत्युदण्ड सुनाएको छ।गत अप्रिलमा राजधानी ढाकादेखि करिब १ सय ६० किलोमिटर टाढाको फेनी शहरमा १९ वर्षीया छात्रा नुसरत जहान रफीलाई विद्यालय परिसरभित्रै शरीरमा मट्टितेल खन्याई जलाएर हत्या गरिएको थियो।

सो विद्यालयका प्रधानाध्यापक सिराज उद दोउलाविरुद्ध आफूमाथि यौन दुव्र्यवहार भएको उजुरी दिएको दुई सातापछि उनको सुनियोजित हत्या भएको थियो। यस हत्याकाण्डको विरोधमा बंगलादेशमा व्यापक विरोध प्रदर्शनसमेत भएको थियो। नुसरत हत्याको घटनामा अदालतले पनि धेरै छिटो फैसला सुनाइएको हो।

यस्ता घटनाको अन्तिम निर्णय आउन सामान्यतया कम्तीमा एक वर्ष लाग्ने गरे तापनि यो घटनामा करिब ६ महिनामा नै फैसला आएको हो।अनुसन्धानको क्रममा घटनामा धेरै स्थानीय प्रहरी अधिकारीहरूको पनि संलग्नता रहेको खुलेको छ। तिनीहरूले नुसरतको हत्या नभई उनले आत्महत्या गरेको हो भन्ने पुष्टि गर्न भूमिका खेलेका थिए।

सरकारी पक्षका वकिल हाफेज अहमदले भनेका छन्– ‘बंगलादेशमा कुनै पनि हत्यारा उम्कन पाउने छैन।’ त्यसै गरी प्रतिवादीतर्फका वकिलहरूले भने अदालतको यस निर्णयविरुद्ध पुनरावेदनमा जाने बताएका छन्।नुसरतको हत्यामा उनको आफ्नै सहपाठी र स्थानीय समुदायका शक्तिशाली व्यक्तिको पनि सहभागिता भएको आशंका गरिएको थियो।

अदालतले प्रधानाध्यापक सिराजसहित तीन जना शिक्षकलाई पनि दोषी ठह¥याएको छ। दोषी ठहर हुनेमा अवामी लिग पार्टीका स्थानीय नेताहरू राहुल अमिन र मकसुद आलम पनि रहेका छन्।
प्रधानाध्यापकले आफ्नो शरीरका संवेदनशील अंगहरू छुने र चलाउने गरेको उजुरी दिएको ११ दिनपछि गत ६ अप्रिलमा नुसरतलाई फकाइफुलाई विद्यालयको छतमा लगिएको थियो।

त्यसपछि बुर्का लगाएका करिब ४÷५ जना व्यक्तिले घेरेर उनलाई आफ्नो उजुरी फिर्ता लिन दबाब दिएका थिए। तर, उनले अस्वीकार गरेपछि उनलाई जलाइएको थियो।शरीरको असी प्रतिशत भाग जलेका नुसरतको चार दिनपछि अर्थात् १० अप्रिलमा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो।

बंलादेशमा महिलाविरुद्धको यौनहिंसा तुलनात्मकरूपमा निकै धेरै हुने गरेको बताइन्छ। यसै वर्षको शुरूमा अन्तार्रष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले बंगलादेशको गार्मेनट कारखानामा काम गर्ने ८० प्रतिशत महिला यौन शोषणमा पर्ने गरेको तथ्य सार्वजनिक गरेको थियो।तर, अधिकांश पीडित महिलाले नुसरतले जस्तै मुख खोलेरै यौन उत्पीडनविरुद्ध आवाज उठाउन नसकेको बताइएको छ।

नुसरतले आफूमाथि भएको अत्याचारबारे प्रहरीलाई बयान दिँदा खिचिएको भिडियो सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत भाइरल भएपछि सरकारमाथि गम्भीर अनुसन्धानका लागि दबाब परेको थियो। बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सार्वजनिकरूपमा कुनै पनि अपराधिलाई कानुनी छुट नदिइने घोषणा गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्