बिक्नै छोड्यो सुन, ५ सय किलो ढुकुटीमा थन्कियो



परिवर्तन देवकोटा, काठमाडौं।

चाडपर्वको मुख्य समयमा यस वर्ष सुनचाँदीमा ग्राहकको आकर्षण घटेको छ। अघिल्ला केही महिनादेखि नै सुनको मूल्यमा निरन्तर भएको वृद्धिका कारण सुनप्रति ग्राहकको चासो नपरेको हो।

ठूला चाडमध्येको एक मुख्य चाड तिहार आउन केही दिनमात्रै बाँकी रहँदा सुनप्रति ग्राहकको रुचि देखिएको छैन। सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले सुनको मूल्य बढेको कारण सुन पसलमा ग्राहकको उपस्थिति निकै घटेको गुनासो गर्नुभयो।

नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले तीज, दशैंमा नबिकेको सुन तिहारमा पनि नबिक्दा व्यवसाय नै धरापमा पर्ने चिन्ता भएको बताउनुभयो।

विगतका वर्षको तुलनामा यस वर्ष सुनको कारोबार निकै सुस्त छ। अघिल्लो वर्ष चाडबाडको समयमा दैनिक ५० देखि ६० केजी सुनको बिक्री भए पनि यस वर्ष भने घटेर दैनिक १५ केजीसम्म मात्रै बिक्री भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अहिले दैनिक २० देखि २५ प्रतिशत मात्रै सुनको कारोबार भएको छ।

दशैंको समयमा यसवर्ष सुन दैनिक १० देखि १५ प्रतिशत मात्रै कारोबार भएको थियो भने तीजमा २५ प्रतिशतको हाराहारीमा सुन बिक्री भएको थियो।

गत वर्षको तुलनामा यस वर्ष सुनको बिक्री आधाभन्दा बढीको कारोबार घटेको देखिन्छ। गत वर्ष सामान्य बजारमा सुन दैनिक ५० केजीको हाराहारीमा बिक्री भएको भए पनि यस वर्ष यस्तो हुन नसकेको सुन व्यवसायी शाक्यले बताउनुभयो।

सुन व्यवसायी शाक्यले गत हप्ता सुनको कारोबार ठप्प जस्तै भएको बताउँदै अहिले छिटफुट मात्रै बिक्री भएको बताउनुभयो।

‘तिहारमा त सुन बिक्री हुन्छ कि भन्ने आशा थियो, तिहार आइसक्यो तर सुन बिक्री भएको छैन’, उहाँले भन्नुभयो– ‘सुन नबिक्दा व्यवसायीहरूमा निराशा र चिन्ता मात्रै थपिएको छ।’

उहाँले तिहारमा धनतेरकको दिन सुन बढी प्रयोगमा आउने हुँदा केही कारोबार होला भन्ने आश गरे पनि अरू दिन भने कारोबार उस्तै रहन सक्ने बताउनुभयो।

नेपाली बजारमा सुनचाँदीको भाउमा भएको अचाक्ली वृद्धिका कारण सुन व्यवसाय नै धरापमा पर्ने चिन्तामा सुन व्यवसायीहरू रहेका छन्। शाक्यका अनुसार, सुनको भाउ अझै केही महिना घट्ने सम्भावना रहेको छैन, जसका कारण कतिपय सुन व्यवसायीको त रोजीरोटी नै गुम्ने डर रहेको छ।

गत वर्षको तुलनामा चाडबाडको समयमा यस वर्ष सुन व्यवसायीहरूले ५० प्रतिशतभन्दा बढीको घाटा व्यहोर्नुपरेको शाक्यले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘चाडबाडको समयमा यस वर्ष ५० प्रतिशतभन्दा बढीको घाटा व्यहोर्नुपर्यो, सामान्य अवस्थामा भने २५ प्रतिशतभन्दा बढीको घाटा भइरहेको छ।’

अघिल्लो वर्षको तुलनामा अहिले सुनको मूल्य प्रतितोला १० हजार रुपियाँभन्दा बढीले बढेको छ। गत वर्ष सुनको सबैभन्दा उच्च मूल्य ६३ हजार ३ सय रुपियाँमात्रै रहेको थियो।

यद्यपी यस वर्ष सुनको मूल्य ७० हजारभन्दा माथि रहेको छ। पछिल्लो समय सुनको बिक्री सुस्ताउँदा सुन व्यवसाय नै पलायनतर्फ त जाँदैन भन्ने चिन्ता व्यवसायीहरूमा देखिएको व्यवसायी शाक्यले बताउनुभयो।

कसरी भयो वृद्धि

नेपाली बजारमा सुनचाँदीको मूल्यमा देखिने उतारचढाव विदेशी अर्थतन्त्रले प्रभाव पार्छ। पछिल्लो समय चीन र अमेरिकाबीचको व्यापार युद्धका कारण सुन व्यवसाय चौपटमा परेको व्यवशायी शाक्यको भनाई छ।

यस्तै अमेरिकी बैंकले ब्याजदर घटाएका कारण पनि सुनको भाउमा उतारचढाव आएको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘अमेरिकी अर्थतन्त्रले सुन बजारमा निकै ठूलो भूमिका खेल्छ, त्यसैको प्रभाव नेपाली बजारमा कायम छ।’

५ सय केजीभन्दा बढी सुन अझै बैंकमा

नेपाल राष्ट्र बैंकका अनुसार बैंकमा ५ सय २५ केजी सुन रहेको छ। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले सुन बिस्तारै बिक्री हुँदै गएको बताउनुहुँदै अब बैंकमा सुन बिस्तारै घट्दै जाने नेपाल समाचारपत्रसँग बताउनुभयो।

मूल्यमा घटबढ भइरहेकै छ, यसैबीचमा केही कारोबार हुँदा बैंकको सुन घट्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘अझैं पनि व्यापार कम नभएकाले बैंकमा केही समय सुन रहन्छ।’

चीन र अमेरिकाबीचको व्यापार युद्ध रोकिएपछि सुनको व्यापार उकालो लाग्ने बताउँदै उहाँले व्यवसायीहरूले आत्तीनुनपर्ने समेत बताउनुभयो। उहाँले बैंकमा यती परिणामको सुन भएर ठूलो असर नपर्ने समेत उल्लेख गर्नुभयो।

अमेरिका–चीनको सम्बन्ध सुधारको पर्खाइमा व्यवसायी

अमेरिका र चीनबीचको सम्बन्ध सुधार हुने आशामा नेपालमा सुन व्यवसायीहरू रहेका छन्। यद्यपी यी दुई ठूला मुलुकहरूबीचको द्वन्द अझै केही समय कायम देखिन सक्ने सम्भावना छ।

सेप्टेम्बरमा अमेरिका र चीनबीच वार्ता हुने भनिएको थियो। तर त्यतिखेर वार्ता हुन सकेन।

अक्टोबरमा वार्ता हुने भनिएपनि मंगलवारसम्म वार्ताको मिति तोकिन सकेको छैन। यसरी हेर्दा तत्कालै अमेरिका र चीनबीचको वार्ता हुने स्थिती देखिएको छैन।

सुनको भाउ अझै केही महिना घट्ने सम्भावना रहेको छैन, जसका कारण कतिपय सुन व्यवसायीको त रोजीरोटी नै गुम्ने डर रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्