मोदी र नोबेल विजेता अभिजितबीच भेट



नयाँदिल्ली, (एजेन्सी)।

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल विजेता भारतमा जन्मेका अमेरिकी प्रोफेसर अभिजित बनर्जी र भारतीय प्रधानमन्त्रीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। प्रधानमन्त्री मोदीले अभिजित बनर्जीसँग भेटको तस्वीर पोस्ट गरेका छन् ।

तस्वीर ट्विटरमा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले लेखेका छन्– ‘नोबेल विजेता अभिजित बनर्जीसँग राम्रो बैठक भयो । मानव सशक्तीकरणप्रति उनको विचार स्पष्टरूपमा सबैको अगाडि छ ।

कयौं विषयमा बनर्जीसँग विस्ताररूपमा छलफल भयो । अभिजितको उपलब्धिमा भारतलाई गर्व छ । भविष्यका लागि उनलाई धेरै शुभकामना ।’

प्रधानमन्त्री मोदीसँगको भेटपछि अभिजित बनर्जीले समाचार एजेन्सी एएनआईलाई भने– ‘मलाई प्रधानमन्त्री मोदीसँग भेट्ने सौभाग्य प्राप्त भयो ।

प्रधानमन्त्रीले मलाई पर्याप्त समय दिए र उनले मसँग भारतका बारेमा आफ्नो विचार राखे ।’‘मोदीले देशका बारेमा जे सोचिरहेका छन्, त्यो विल्कुल फरक छ । प्रधानमन्त्रीले आफ्नो नीतिलाई लिएर कुरा गरे । उनले आफ्ना विचार कसरी लागू गरिरहेका छन् यसमा पनि कुरा गरें।

जमिनमाथिको शासनमा प्रबुद्धवर्गको नियन्त्रण कसरी थियो भने कुरा प्रधानमन्त्रीले बताए । आफूले कसरी ब्युरोक्रेसीमा सुधार ल्याउने प्रयास गरिरहेको छु भन्ने विषयमा पनि मोदीले बताए ।

भारतका लागि यो अत्यन्त महत्वपूर्ण भएको र अधिकारीहरू जनताप्रति जिम्मेदार हुनुपर्नेमा मोदीले जोड दिए । यो उत्कृष्ट भेटघाटका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद ।’ –अभिजितले बताए ।

अभिजित बनर्जी मोदी सरकारको आर्थिक नीतिको आलोचक थिए । सन् २०१६ प्रधानमन्त्री मोदीको नोटबन्दीको घोषणालाई बनर्जीले मूर्खतापूर्ण कदम बताएका थिए ।

बनर्जीले भारतमा आर्थिक वृद्धि मापन गर्ने तरिकाको पनि आलोचना गर्दै आर्थिक वृद्धिका डाटा संदिग्ध भएको बताएका थिए ।

अभिजित बनर्जीलाई नोबेल दिने घोषणामा भारत सरकारका तर्फबाट कुनै प्रकारको हर्षोल्लासपूर्ण प्रतिक्रिया आएको थिएन ।

अझ रेल तथा वाणिज्य मन्त्री पियूष गोयलले अभिजितलाई वामपन्थी विचारधाराको बताउँदै उनको विचारलाई भारतको जनताले खारेज गरेको प्रतिक्रिया दिएका थिए ।

अभिजित बनर्जीले सन् २०१९ को आमचुनावमा कांग्रेसको घोषणापत्र बनाउने क्रममा न्याय योजनामा सहयोग गरेका थिए ।

जसमा देशका सबैभन्दा गरिब २० प्रतिशत परिवारको खातामा हरेक वर्ष ७२ हजार रुपियाँ हालिदिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

तर यसको बाबजुद कांग्रेसले आमचुनावमा नराम्रोसँग हार बेहोर्नुपरेको थियो । यसै विषयलाई लिएर अभिजित बनर्जीमाथि निसाना साँध्दै गोयलले उनको विचारलाई भारतीय जनताले अस्वीकार गरिसकेको बताएका हुन् ।

गोयलको उक्त प्रतिक्रियालाई लिएर बनर्जीले देशलाई व्यावसायीको आवश्यक भएको र उनीहरुको प्रयोग गर्नुपर्ने बताउँदै असन्तुष्ट व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्