सम्राट् नारुहितोद्वारा राजगद्दी आरोहण



टोक्यो, (एजेन्सी)।

जापानका सम्राट् नारुहितोले मंगलबार एक विशेष समारोहबीच औपचारिकरूपमा राजगद्दी आरोहण गरेका छन्।

५९ वर्षीय सम्राटले आफ्ना पिता तत्कालीन सम्राट अकिहितोले स्वेच्छाले राजगद्दी परित्याग गरेकाले गत मे महिनादेखि नै औपचारिकरूपमा शासन गर्न थालेका थिए।

जापानको राजधानी टोक्योस्थित राजप्रासादभित्रको थुप्रै परम्परागत संस्कार सकिएपछि बल्ल अब गद्दी आरोहणलाई औपचारिकता दिइएको हो। भर्खरै मात्र भयानक समुद्री आँधी हागिविसका कारण जापानमा झन्डै ८० जनाको ज्यान गएको थियो।

ती मृतक र तिनीहरूका शोकाकुल परिवारको भावनालाई सम्मान गर्दै गद्दी आरोहणको उपलक्षमा आयोजना हुने भनिएको परेड कार्यक्रम स्थगित गरिएको छ।

जापानी भाषामा सोकुई नो रेई भनिने गद्दी आरोहण समारोहको उपलक्षमा सम्राट् नारुहितो ६ दशमलव ५ मिटर अग्लो ताकामिकुरा राजगद्दीमा बसेका थिए।

सम्राटहरूले मात्र विशेष समारोहरूमा लगाउने पहेंलो र सुन्तला रंगको पोसाक लगाएका उनले औपचारिक घोषणापत्र पढेका थिए।

अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार उनले पढेका थिए– ‘म संविधानअनुसार काम गर्ने प्रतिज्ञा गर्दछु र राष्ट्र तथा जनताको एकताको प्रतीकको हिसाबले आफ्नो जिम्मेवारी पूरा गर्दछु।’

बाह्र तहको लुगा लगाएको बताइएकी उनकी पत्नी तथा साम्राज्ञी मासाको छुट्टै सानो राजगद्दीमा बसेकी थिइन्। त्यहाँ उपस्थित सबैले ‘बान्जाई’ अर्थात् ‘सम्राट चिरायु रहुन्’ भनेर चिच्याएपछि जापानी प्रधानमन्त्री सिन्जो आवेले शुभकामना सन्देश पढेका थिए।

साम्राज्य शक्तिका रूपमा चिनिने पवित्र खजना एउटा प्राचीन तरवार र जुहारातका सामु चलेको सो समारोहको अधिकांश समय शान्त रहेको थियो।

प्रतिक्रिया दिनुहोस्