ग्लोबल अवार्ड सन फ्रान्सिस्कोमा



अमेरिकामा हुँदै आएको ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण यस वर्ष सन फ्रान्सिस्कोको बे एरियामा हुने भएको छ। एलएलसी, नेपाल फिल्म सोसाइटी र नेपाल गोल्डेन स्टेट मुभी मेकर एलएलसी कोलोराडाको आयोजनामा आगामी मंसिर १४ र १५ गते सन फ्रान्सिस्कोमा यो अवार्ड हुन लागेको हो।

नेपाली फिल्म उद्योगलाई विश्व बजारसम्म फैलाउने मुख्य उद्देश्यका अमेरिकामा यो अवार्ड निरन्तररूपमा आयोजना गर्दै आएको आयोजकले सोमबार राति राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। मंसीर १५ गते यूसी थिएटरमा हुने कार्यक्रममा नेपाल तथा अमेरिकाका ख्यातिप्राप्त कलाकार सहभागी हुनेछन्।

अवार्ड कार्यक्रमपश्चात् भिजिट नेपाल २०२० लाई सहयोग पुर्याउन कलाकारसहितको सहभागितामा बर्कली सिटीको मुख्य सडक नै बन्द गरी नेपाल परेड डे मनाइने तथा सोही दिन साँझ सन फ्रान्सिस्को बेमा कलाकारसहितको भव्य क्रुज पार्टीको आयोजना हुने बताइएको छ।

कार्यक्रममा एलएलसीका अध्यक्ष यज्ञलाल श्रेष्ठले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन अवार्ड आयोजना गरिन लागेको बताए। उनले कार्यक्रमको टिकटबाट फाइदा आए त्यसबाट नेपालका स्कुललाई सघाउने बताए।

निर्माण नियन्त्रक ईश्वर घिमिरेको व्यवस्थापनमा भएको कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले नेपाली फिल्मकर्मीलाई सम्मान, नेपाली फिल्मको डायस्पोरामा प्रवद्र्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रवद्र्धन, फिल्म टुरिजमको विषयमा अन्तरक्रिया, नेपाल र अमेरिकामा रहेका नेपाली कलाकारको पुनर्मिलन र फिल्म पर्यटन तथा भिजिट नेपाल–२०२० लाई सघाउनु कार्यक्रमको उद्देश्य रहेको बताए। कार्यक्रमका लागि नेपालबाट कृष्ण मल्ल, श्याम भट्टराई र नारायण पुरीले समन्वय गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्