झमकको जीवन काँडा कि फूल आउँदै



साहित्यकार झमक घिमिरेको मदन पुरस्कारप्राप्त कृति जीवन काँडा कि फूलमा आधारित फिल्म जीवन काँडा कि फूल आगामी कात्तिक २२ गते रिलिजमा आउने भएको छ। विनोद विष्टको निर्माण र निर्देशनमा बनेको फिल्ममा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूला हुँदाको भूमिकामा काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन्।

त्यस्तै झमकको बहिनीको भूमिकामा बाल कलाकार स्विकृति शर्मा र ठूलो हुँदाका भूमिकामा सारिका घिमिरे, बुबाको भूमिका किशन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारले यसमा अभिनय गरेका छन्।

निर्देशक विष्टले यसअघि प्रेम प्रतीक्षा, संग्राम र म कसरी भनुँजस्ता फिल्म निर्माण र निर्देशन गरिसकेका छन्।झमक घिमिरेको कथा र मुक्ति उपाध्याय बरालको पटकथा रहेको फिल्ममा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ।

प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर र मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशन कमल राईले गरेका छन्। शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्ममा बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम सहनिर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्