स्वस्तिमा आफ्नै बूढाको साली ?



फिल्म लुटबाट निर्देशकका रूपमा सिनेमा क्षेत्रमा उदाएका निश्चल बस्नेत पछिल्लो समयमा कलाकारका रूपमा देखिन थालेका छन्। अभिनय गर्दै जाँदा आफूमा यसप्रतिको लगाव पनि बढ्दै गएको उनले बताएका छन्।

आगामी शुक्रबार रिलिज हुन लागेको फिल्म घामड शेरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने– ‘जुन जुन फिल्ममा मैले केमियो गरेको छु, ती सबै चिनेकै साथी तथा फिल्म मेकरले गर्नैपर्छ भनेको आधारमा खेलेको हुँ।

तर, पछिल्लो समय मैले अभिनय गरेका फिल्म आफ्नो इन्ट्रेस्टले गरेको हुँ’, उनले भने– ‘अहिले अभिनयप्रतिको रुचि बढ्दै छ। काम गर्नु नै छ भने प्यासोनटली किन नगर्ने मलाई खेलाए अनि खेले भनेर कहिलेसम्म भनिराख्ने?’ निश्चलले सुनाए– ‘निर्देशक हेमराज बिसीसँग पहिले पनि एउटा लभ स्टोरी जनराको फिल्ममा काम गर्ने कुरा भएको थियो।

फिल्म घामड शेरेमा अभिनयको अफर आउँदा लभ स्टोरी त होला नि भन्ने सोचेको थिएँ। तर, भन्दा फरक पाए। घामड शेरेमा शेरेले विदेशबाट फर्केपछि के–के गर्न खोज्छ भन्ने शेरेको जर्नी छ।’ यसै फिल्ममार्फत रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का पहिलोपटक स्क्रिन शेयर गर्दै छन्। तर, फिल्ममा उनीहरू साली–भिनाजुका रूपमा देखिँदै छन्।

स्वस्तिमा भन्छिन्– ‘आफ्नै बूढाको साली बनेर फिल्ममा काम गर्दा पनि असहज महशुस भएन। एक वर्ष अघिसम्म दर्शकले खासै मबाट एस्पेक्टेसन राख्नुहुन्न्थ्यो तर अहिले आएर राम्रो काम गरोस् भन्ने एक्सपेक्टेसन राख्न थाल्नुभएको छ। यस कारण पनि फिल्म आउनसाथ काम गरिहाल्दिनँ।

घामड शेरेमा काम गर्न अफर आउँदा पनि मैले हेमराज दाइलाई यो फिल्म गर्दा मलाई के फाइदा हुन्छ र अडियन्सलाई के फाइदा हुन्छ भनेर सोधेको थिएँ। यतिसम्मको फिल्ममा काम गर्दा अभिनयको हिसाबले केही देखाउन पाउँछु भनेर काम गर्ने निणय गरेको हँु।’ फिल्ममा उनी शिक्षिकाको भूमिकामा छिन्।

निर्देशक हेमराज बिसीले विदेश गएर आर्थिकरूपमा सवल भई गाउँ फर्केर केही परिवर्तन गरौं भन्ने शेरे नामक पात्रको कथा फिल्ममा प्रस्तुत गरिएको बताए। ‘घामड शेरे भनेको सोसल ड्रामा प्लस सटायर हो। जुन सटायर समाज, सिस्टम र कतिपय अवस्थामा पात्रको फ्यामलीलाई पनि हो ।विदेशबाट फर्केर केही राम्रो काम गरौं भन्ने शेरेको सोच उसको समाज र परिवारलाई घामड लाग्छ।’ –उनले भने।

फिल्ममा कथा र पटकथा हेमराज बिसीको रहेको छ भने हेमराजको साथमा सिमोस सुनुवारको निर्माण रहेको छ। फिल्ममा निश्चल र स्वस्तिमाको साथमा सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतको अभिनय रहेको छ भने कालीप्रसद बास्कोटाको संगीत, कालीप्रसादको साथमा अस्मिता अधिकारीको गायन, प्रदीप लामा र प्रमोद भण्डारीको कोरियोग्राफी, नरेन्द्र मैनालीको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्