गीत चल्छ कि चल्दैन भन्ने चिन्ता भइरहन्छ : दुर्गा खरेल




त्यो काले केटाले, छुट्छ कि साथ टुट्छ कि नाता, तिमी टाढा हुँदा मलाई, भेटेरै सुन्नु छ बोली हजुरको जस्ता दर्जनौं हिट गीतकी गायिका हुन् दुर्गा खरेल। प्रथम नेपाली ताराको प्रतिस्पर्धीका रूपमा गायन क्षेत्रमा आएकी दुर्गाले थुप्रै फिल्मी, आधुनिक र आइटम गीतमा स्वर दिएकी छिन्। पछिल्लोपटक फिल्म पासवर्डका लागि गाएको आजको साम बेबी बोलबाट उनले राम्रो प्रशंसा बटुलिन्। यो गीतमा बलिउड अभिनेतृ सन्नी लियोनीले नृत्य गरेकी थिइन्। आफ्नो सुमधुर गायन कलाका कारण देश–विदेशका कार्यक्रममा छाइरहेकी उनै गायिकासँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ ः

 

रश्मी थापा

 

हाल के गर्दै हुनुहुन्छ ?

केही अघि रिलिज भएको फिल्म पासवर्डका लागि आजको साम बेबी बोलको राम्रो गीत गाउने मौका पाएँ। अहिले आफ्नै एल्बमको तयारीमा व्यस्त छु। भर्खरै फिल्म नीरफूलका लागि अर्को एउटा एकदमै राम्रो गीत गाएको छु। यो गीत मेरै लागि बनेको होजस्तो लाग्यो र फिल गरेर गाएँ।

अहिले स्वर नै नभएका नयाँ–नयाँ मानिस भाङभुङ परेको गीत लिएर आउने र स्टेज पर्फमेन्समा जाने गरेको पाइन्छ। यसले नेपाली गीत–संगीत पक्कै पनि माथि चाहिँ जाँदैन। त्यस्तो गायकगायिका विस्तारै पानीबाट बालुवा छानिए जस्तै छानिँदै जानेछन् भन्ने लाग्छ।

 

पासवर्डको गीतको रेस्पोन्स कस्तो पाउनुभयो ?

धेरै जनाबाट निकै राम्रो रेस्पोन्स पाएँ। उक्त गीतमा भारतीय नायिका सनी लियोनीलाई बोल्ड अवतारमा देख्न सकिन्छ। सनीले मेरो भ्वाइसमा डान्स गर्दा निकै म्याच भएको पाएँ। ग्ल्यामर तथा बोल्ड नायिकाहरूलाई मेरो भ्वाइस अझ म्याच हुने रहेछ भन्ने रेस्पोन्स पाएँ। धेरै जनाले त्यस्तै भन्नुभयो।

बलिउड नायिकालाई फिल्म खेलाए पनि फिल्म चल्छ नै भन्नेचाहिँ रहेनछ है ?

सन्नीजीलाई फिल्ममा भन्दा पनि त्यसको एक आइटम गीतमा मात्र प्रस्तुत गरिएको हो। आइटम गर्लका रूपमा उहाँको बलिउडमा छुट्टै पहिचान छ। बलिउडका कलाकारलाई नेपाली आइटम गीतमा प्रस्तुत गर्नु नै अहिले हाम्रो फिल्म क्षेत्रका लागि सकरात्मक कुरा हो। उहाँलाई गीतमा समावेश गर्दा नेपाली गीत–संगीतको अन्तर्राष्ट्रिय तहमा चर्चा भएको छ।

उहाँले नेपाली गीतमा खेल्न स्वीकार गर्नु नै हाम्रो लागि खुसीको कुरा हो। जसले गर्दा नेपालमा पनि यस्तो राम्रो गीत बन्दोरहेछ, राम्रो गीत एरेन्ज हुँदोरहेछ भन्ने कुरा थाहा भएको छ। यसलाई सकरात्मकरूपमा लिनुपर्छ। तर, फिल्म नचलेकोमा उहाँलाई केही भन्न मिल्दैन।

सांगीतिक क्षेत्रमा आफ्नो स्थान कहाँ पाउनुहुन्छ ?

त्यो त म आफैंले भन्दा पनि दर्शक स्रोताले भन्ने कुरा हो। मलाई आफूले थोरै गीत गाए पनि जति गाएँ, सबैमा न्याय गरेर गाएँ जस्तो लाग्छ। शुरूमा मैले मेलोडी सङ गाएँ। त्यसपछि बोल्ड र डान्सिङ बिटका गीतहरू पनि गाएँ। यस्ता खालका गीतमा झन् धेरै म्याच भएको रेस्पोन्स पाएँ। सेमी क्लासिक, रिदमिक गीतहरू पनि गाएको छु।

यस्तो गीतहरूमा पनि स्वर म्याच गर्छ। धेरै गीतमा अफर आए पनि चित्त बुझेको गीत मात्र गाउँछु। मेरो गीत सुन्ने दर्शक तथा संगीतकर्मीले मेरो फरक खालको स्वर छ भन्नुहुन्छ। ढिलो भए पनि राम्रो गीत ल्याउँ भनेर एउटै गीतका लागि निकै मेहनत गरेर गाउने गर्छु। अरूको रेस्पोन्सअनुसार आफूलाई राम्रै गायिकामा पर्छु जस्तो लाग्छ।

नेपाली ताराको यात्रालाई कसरी स्मरण गर्नहुन्छ ?

नेपाली ताराले मलाई करिअरमा अघि बढ्न राम्रो प्लेटफर्म दियो। यदि मैले नेपाली तारामा भाग नलिएको भए अलि ढिला सांगीतिक क्षेत्रमा आउँथें होला र मेरो पहिचान बन्न अलि समय लाग्थ्यो होला।

तर, जब नेपाली तारामा गएँ, त्यसपछि अलि सजिलो भयो। सुख–दुःख र पैसाको कुरा आफ्नो ठाउँमा छ। तर पछि आफ्नो एल्बमहरू निकाल्न र गीत गाउनका लागि नेपाली ताराबाट आएको गायिका भनेर धेरैले चिनेका कारण सजिलो भयो।

गीत–संगीतमा आउन कस्तो संघर्ष गर्नुभयो ?

संघर्ष जुन क्षेत्रमा पनि हुन्छ। आफ्नो लक्ष्यमा पुग्नका लागि आफ्नो काम र साधना गर्ने कुरा आफ्नो ठाउँमा हुन्छ। मलाई घर–परिवारबाट राम्रो सपोर्ट भएका कारण त्यति धेरै संघर्ष गर्नु परेन। स्कुलबाट पनि राम्रो हौसला र संगीत सिक्ने अवसर पाएँ।

शुरूमा घरबाट टाढा बस्नु पर्दाको पीडा भने बेग्लै थियो। पहिले दिदीहरूसँग बस्थें। तर, अहिले ममीहरूसँगै बस्छु। पहिलेभन्दा अहिले सजिलो छ। तर, निरन्तर साधना भने गरिरहनुपर्छ र गरिरहेको छु।

तपाईंले बाहिरबाट देखेको संगीत क्षेत्र र अहिलेमा कतिको फरक रहेछ ?

बाहिरबाट हेर्दा जे कुरा पनि सजिलो छ जस्तो लाग्छ। तर, आफूले गर्दा गाह्रै हुन्छ। पहिला तिम्रो सुर मेरो गीत भन्ने कार्यक्रम हेर्दा आफू पनि गीत गाएर टिभीमा देखिन पाए पनि हुन्थ्यो जस्तै लाग्थ्यो। जब नेपाली तारामा गएँ, टिभीमा देखिए जस्तो सजिलो भने भएन। गीत गाएर एक महिनामा म्युजिक भिडियो बनाएपछि हिट भइन्छ भन्ने लाग्थ्यो, तर होइन रहेछ।

त्यसका लागि धेरै मेहनत र साधना गर्नुपर्ने रहेछ। गीत गाएपछि गीत चल्छ कि चल्दैन भन्ने चिन्ता अहिले पनि भइरहन्छ। एउटा गीत चलेपछि अर्को चल्छ कि चल्दैन भन्ने चिन्ता सबैलाई हुन्छ। संगीत क्षेत्रमा टिकिरहनु गाह्रो कुरा रहेछ। गीत गाउनु भनेको ठूलो कुरा रहेछ। जसका लागि भगवान्को आशिर्वाद चाहिन्छ।

कस्ता खालका गीत गाउन मन पर्छ ? अब कस्तो गाउने इच्छा छ ?

मलाई आइटम गीत गाउन मन पर्छ। यस्ता खालका धेरै गीत गाएको पनि छु। यस्ता गीतमा बिन्दास पाराले छुट्टै हाउभाउका साथ गाउन पाइन्छ।

मेलोडी गीत पनि मन पर्छ। त्यसमा अलि स्वर निकालेर गाउनुपर्ने हुन्छ। यी दुवै प्रकारका गीत राम्रो गाउन सक्छु। सीधै भन्दा म क्लासिकल बेसका गीतचाहिँ गाउन सक्दिनँ।

संगीतकर्मी साथीहरूले कत्तिको सहयोग गर्नुहुन्छ ?

संगीतकर्मीहरूबाट धेरै सहयोग पाइरहेको छु। शुरूका दिनमा सुरेश अधिकारी तथा महेश खड्का दाइहरूले मलाई धेरै सहयोग गर्नुभयो। पछिल्लो समय अर्जुन पोखरेल सरले सपोर्ट गरिरहनुभएको छ। उहाँसँग नेपाली तारामा आउनु अगाडिदेखि नै चिनजान थियो र गीत–संगीतबारे सल्लाह सुझाव दिइरहनुहुन्थ्यो। उहाँहरूको सपोर्टलाई म कहिल्यै बिर्सिन सक्दिनँ।

गायन क्षेत्रमा गायक र गायिकाबीच पारिश्रमिकमा विभेद छ या छैन ?

विभेद त आफूमा भर पर्ने कुरा हो। गायक होस् या गायिका होस्, कसैले आफ्नो रेट यति नै हो भनेर फिक्स रेटमा काम गर्छन् भने कसलै परिस्थिति हेरेर पनि काम गर्छन्। म पनि परिस्थितिअनुसार गाउँछु। मेरो गोरुको बाह्रै टक्का भनेर मलाई यति नै चाहिन्छ भन्दिनँ। पारिवारिक र साथीभाइको समबन्धको आधारमा गीत गाउँछु।

गीत गाएर गुजारा चलाउन सकिन्छ ?

एकदमै सकिन्छ। पहिलेभन्दा अहिले सांगीतिक क्षेत्रमा धेरै अवसर बढेका छन्। अहिले विभिन्न ठाउँमा कन्सर्ट, मेला–महोत्सव भइरहेका हुन्छन्, यसले गर्दा गायकगायिका व्यस्त हुन्छन्। मलाई पनि यस्ता कार्यक्रमका लागि धेरै अफर आइरहेको हुन्छ। तर, मलाई ट्राभल सिकको समस्या भएकाले कमै हिँड्छु। तर, पनि गुजारा चलिरहेको छ।

सांगीतिक क्षेत्रमा रहेको ग्रुपिजमले तपाईंको करियरलाई कत्तिको असर परेको छ ?

ग्रुपिजमबाट कसैलाई हेल्प हुन्छ र राम्रो काम हुन्छ भने राम्रै हो। म कुनै पनि ग्रुपमा आबद्ध नभएका कारण मलाई यसबाट केही फरक परेको छैन। म कसैको नराम्रो नहोस्, सबैको राम्रो होस् भन्ने सोच भएको बिन्दास पाराको मान्छे हुँ। यस कारण म यस्तो कुरामा ध्यान नै दिन्नँ।

संगीतको क्षेत्रमा तपाईंले देख्नुभएको विकृति के छ ?

अहिले स्वर नै नभएका नयाँ–नयाँ मानिस भाङभुङ परेको गीत लिएर आउने र स्टेज पर्फमेन्समा जाने गरेको पाइन्छ। यसले नेपाली गीत–संगीत पक्कै पनि माथि चाहिँ जाँदैन। सधैं यस्तो खालको समस्या रहन्छ भन्ने पनि छैन।

आफू कस्तो बन्ने भन्ने कुरा आफूमा भर पर्ने हो। त्यस्तो गायकगायिका विस्तारै पानीबाट बालुवा छानिए जस्तै छानिँदै जानेछन् भन्ने लाग्छ। उहाँहरूले पनि विस्तारै यो कुरा बुझ्दै जानुहुनेछ भन्ने लाग्छ।

 

प्रतिक्रिया दिनुहोस्