दोस्रो दिन पनि हङकङको संसद् अवरुद्ध



बेइजिङ, (एजेन्सी)। हङकङको नेता क्यार्री लामलाई बिहीबार दोस्रो दिन पनि संसद्मा प्रश्नहरुको उत्तर दिने क्रममा विपक्षी विधायकहरुले होहल्ला गरेर अवरोध पुर्याएका छन्। ती विधायकहरुले प्लेकार्ड उचाल्दै नाराबाजी गर्न थालेपछि एघारजना विपक्षीलाई सुरक्षा गार्डहरुले बैठक हलबाटै बाहिर पठाइदिएको बुझिएको छ।

बुधबार लामलाई विपक्षी विधायकहरुले यसरी नै अवरोध सिर्जना गरेर वार्षिक नीति सम्बोधन गर्न रोकेका थिए। प्रस्तावित सुपुर्दगी कानुनको विरोधमा हङकङमा महिनौंसम्म हिंसात्मक प्रदर्शन भएको थियो।

हङकङमा अभियोग लगाइएका व्यक्तिलाई थप कानुनी कारबाहीका लागि मुख्य भूमि चीनसमक्ष सुपुर्दगी गर्न प्रस्तावित गरिएको उक्त विधेयक गत जुलाईमा निलम्बित गरिएको थियो। विधान सभा (लेग्को) मा विपक्षी समूहको अल्पमत रहे पनि तिनीहरुले पटक पटक संसद्मा अवरोध पुर्याउँदै आएका छन्। संसद्बाट बाहिर पठाइएका केही विधायकले महिनौं लामो प्रदर्शनमा घाइते भएकाप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले सेता फूलहरु लिएर बसेका थिए।

संसद्बाट बाहिर जाने क्रममा समेत तिनीहरुले ‘क्यारी लाम तपाईं कार्यकारिणी प्रमुख बनिरहनसक्नुहुन्न। यस पदका लागि तपाईं लायक हुनुहुन्न’ भन्ने नारा लगाएका थिए। कुनै समय बेलायती उपनिवेश रहेको हङकङ सन् १९९७ मा चीनलाई फिर्ता गरिएको थियो। हङकङमा ‘एक राष्ट्र दुई प्रणाली’को नीति अपनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्