दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन २०७६ : साहित्यिक क्षेत्रबाट अघि बढ्ने प्रधानमन्त्रीको चाहना



????????????????????????????????????


यदुप्रसाद भट्ट

काठमाडौं

समान, उद्देश्य र प्रकृति मिल्ने संस्थाहरूका बीचमा भाइचारा सम्बन्ध बढाउने, प्राविधिक, आर्थिक, सांस्कृतिक तथा साहित्यिक हिसाबले विश्वलाई महत्वपूर्ण योगदान दिने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन २०७६ शुरू गरेको छ।

दुई वर्षअघि चीनले दक्षिण एसियाली राष्ट्रका प्राज्ञिक संस्थाहरू सम्मिलित प्रथम चीन र दक्षिण एसिया साहित्य सम्मेलन शुरू गरेको थियो। हरेक दुई वर्षमा दक्षिण एसियाली राष्ट्र तथा चीनबीच सहकार्य गर्ने कुराहरू केके छन्, हरेक देशमा बौद्धिक परामर्श गर्ने उद्देश्यले दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन, २०७६ आयोजना गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताउनुभएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्ना गतिविधिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र वर्तमान विश्वका नवीनतम प्राज्ञिक प्रवृत्तिहरूसँग नेपाली स्रष्टा–द्रष्टा र लेखकलाई परिचित गराउने उद्देश्यले विभिन्न मित्र राष्ट्रका समान उद्देश्य र प्रकृतिका प्राज्ञिक संस्थाहरूसँग दुई पक्षीय सहमति कायम गरी प्राज्ञिक आदानप्रदानका साथै अन्तर्राष्ट्रिय स्तरकै गोष्ठी, सम्मेलन र अन्तरक्रिया कार्यक्रम गर्ने उद्देश्य रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा भाषा विभाग प्रमुख गंंगाप्रसाद उप्रेतीले बताउनुभएको छ।

उहाँले क्षेत्रीय साझेदारीमा भाषा, अनुवाद तथा अन्य साझा कुराहरू केके छन् तिनीहरूलाई प्रवद्र्धन गर्ने, नेपालको सुन्दरता देखाउने तथा नजिकिँदै गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने उद्देश्यले सम्मेलनमा भाग लिन आएका पाहुनाहरूलाई चन्द्रागिरी केबुलकारको भ्रमण गराइएको बताउनुभयो।

सम्मेलनले छबुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा साहित्यिक कृतिहरूको अनुवाद गर्ने, समय समयमा क्षेत्रीय रूपमा बहस गर्ने लगायतका कुरा समेटी काठमाडौं घोषणापत्र जारी गरिएको छ। यस्ता सम्मेलनले नेपाललाई विश्वमाझ चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको कुलपति उप्रेतीले बताउनुभएको छ। सम्मेलनले नेपाली साहित्यको विवेचना गर्ने साझा थलोका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा रहेको छ।

अन्तर हिमालय क्षेत्रमा बोलिने भाषा, हिमवत् खण्डमा बोलिने भाषाका साथै संस्कृतिको बारेमा जानकारी लिने उद्देश्यले यो सम्मेलन गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले बताउनुभएको छ। उहाँले प्राज्ञिकमैत्री विकास गरी र यसलाई दिगो बनाउन प्रतिष्ठान लागिपरेको बताउनुभयो।

प्रज्ञा प्रतिष्ठान भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र पाँचवटा विषय क्षेत्रको अध्ययन, अनुसन्धान, प्रकाशन, गोष्ठी, सम्मेलन, अन्तरक्रिया आदिजस्ता कार्यक्रम लिएर अघि बढेको बताउँदै उहाँले यिनै विषयमा आपसी भाइचारा स्थापित गर्न यो सम्मेलन आयोजना गरिएको बताउनुभयो।

स्थापनाको ६१ वर्ष पूरा गरी ६२औं वार्षिकोत्सव मनाउने क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा शुरू गरेको यस सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र माल्दिभ्सबाट संस्थागत रूपमा प्रतिनिधिहरू नेपाल आएका थिए। १६ जना विद्वान्ले विभिन्न विषयमा १६ वटै गोष्ठीपत्र प्रस्तुत गरेका छन्।

नेपालबाट ५० जना विद्वान्ले सो सम्मेलनमा भाग लिएका छन्। माल्दिभ्सका प्रतिनिधिले कार्यक्रममा भाग लिएका थिए भने भुटान र अफगानिस्तानलाई पनि आगामी वर्षमा समेट्ने योजना रहेको छ।यसपूर्व प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले २८ गते मंगलबार सम्मेलनको उद्घाटन गर्नुभएको थियो।

उद्घाटन समारोहमा उहाँले ऋषिमुनिहरूले तपस्या गरेको हिमवत खण्डको बारेमा चर्चा गर्नुभएको थियो। प्रधानमन्त्री ओलीले नेपालीहरू साहित्यिक क्षेत्रबाट अघि बढ्न चाहेको बताउनुभएको छ।

उहाँले आफ्नो मुलुकमा आलोचनात्मक चेत प्रमुख भएको अवस्थामा पनि एसिया सभ्यताको जननी, विकासको जननी, छन्दको सिर्जना, साहित्य सिर्जना गर्ने थलो भएको बताउनुभयो। उहाँले नेपाली भाषा विश्वभर चिनाउन सम्मेलनले सहयोग पुर्याउने बताउनुभयो। उहाँले पूर्व एसियादेखि पश्चिम एसियासम्मका सबै धर्म यहीं नेपालमै भएको उल्लेख गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्