हंगर इन्डेक्समा नेपालको स्थान ७३औं

भारतको स्थान दक्षिण एसियमामा सबैभन्दा तल



नयाँदिल्ली, (एजेन्सी)।विश्वव्यापी भोक सुचकांक ‘ग्लोबल हंगर इन्डेक्स’को यस वर्षको सूचीमा नेपालको स्थान ७३औं पुगेको छ। १ सय १७ देशको सूचीमा भारत दक्षिण एसियामै सबैभन्दा तल १ सय २ औं स्थानमा परेको छ। सूचीमा तल पर्नुको अर्थ जनताले पर्याप्त खान नपाउनु, बाल मृत्युदर धेरै हुनु, बच्चाको उमेर र उचाइअनुसारको तौल नपुगेको र बालकुपोषण धेरै रहेको देखाउँछ।

भारत एसियाको तेस्रो ठूलो अथव्यवस्था हो र दक्षिण एसियाको सबैभन्दा ठूलो तर पनि ग्लोबल हंगर इन्डेक्समा भारत दक्षिण एसियामा सबैभन्दा तल परेको छ। पाकिस्तान, बंगलादेश, नेपालका जनता भारतियको तुलनामा पोषणको मामिलामा अगाडि छन्।

भारत यस मामिलामा ब्रिक्स सदस्य देशमा पनि सबैभन्दा तल छ। सूचीमा पाकिस्तानको स्थान ९४औंै, बंगलादेश ८८औं श्रीलंका ६६ औं स्थानमा छन्। त्यसैगरी सूचीमा चीनको स्थान २५ औंमा परेको छ।

सन् २०१० मा भारत ९५ स्थानमा थियो भने सन् २०१९ मा १ सय २ औं स्थानमा झरेको छ। त्यसैगरी सन् २००० मा १ सय १३ देशमा जीएचआई र्याकिङमा भारतको स्थान ८३ मा थियो।

बेलारुस, युक्रेन, टर्की, क्युबा र कुवेत जीएचआईको सूचीमा सबैभन्दा माथि छन्। रुवान्डा र इथियोपिया जस्ता देशले पनि जीएचआई सूचीमा सुधार गरेका छन्। यो जीएचआई इन्डेक्सको सूची आयरल्यान्डको सहायता एजेन्सी कन्सर्न वल्र्डवाइड र जर्म अर्गनाइजेसन वेल्ट हंगरले तयार गर्छ।

 

प्रतिक्रिया दिनुहोस्