किमले घोडामा पहाड चढे



प्योंङयाङ, (एजेनसी)। उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनए बुधबार आफ्नो सर्वोच्च नेता किम जोंग उनले देशकै सबैभन्दा अग्लो पहाड घोडामा बसेर चढेको जनाएको छ। केसीएनएले सार्वजनिक गरेका थुप्रै तस्वीरमा हिउँले भरिएको माउन्ट पाएक्तुमा किम सेतो घोडामा बसेको देखिन्छन्।

राजनीतिक विश्लेषकले किमले २ हजार ७ सय ५० मिटर अग्लो यो शिखर चढेको पहिलो घटना भने नभएको बताएका छन्। उनको यस पहाड चढाइलाई कुनै प्रमुख र महत्वपूर्ण घोषणाको संकेतको रूपमा पनि लिइने गरिएको छ।

किम जोङ उनका पिता किम जोङ इलको जन्मस्थान भएकाले पनि यस पहाडी क्षेत्रको उत्तर कोरियामा विशेष महत्व रहेको छ। केसीएनएले घोडा चढेर किमले माउन्ट पाएक्तुको यात्रा गर्नुमा गौरवशाली कोरियाली क्रान्तिको इतिहासलाई सम्झाएको जनाएको छ।

सन् २०१७ मा नयाँ वर्षको उपलक्षमा राष्ट्रको नाममा सम्बोधन गर्नु केही साताअघि पनि किमले यस पहाडको भ्रमण गरेका थिए। सो सम्बोधनमा किमले दक्षिण कोरियासँगको कुटनीतिक समबन्धमा नरम हुने संकेत दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्