उत्तर कोरियाको अर्को क्षेप्यास्त्र परिक्षण



सोल, (एजेन्सी)।उत्तर कोरियाले अमेरिकासँगको आणविक वार्ता पुनः शुरू गने प्रसंग उठाएको केही घन्टापछि नै आफ्नो पनडुब्बीबाट एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुनुपर्ने अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरूले बुधबार बताएका छन्।

दक्षिण कोरियाली अधिकारीहरूले वोन्साउ बन्दरगाहबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र करिब ४ सय ५० किमि दूरी तय गर्नुका साथै ९ सय १० किमि उचाइमा पुगेर जापानको सागरमा खसेको बताएका छन्।

यदि यो दाबी सही ठहर भएको खण्डमा गत मे महिनायता भएको यो निकै महत्वपूर्ण छोटो दूरीको क्षेप्यास्त्र परीक्षण हो।जापानी प्रधानमन्त्री सिन्जो आवेले यस कार्यबाट संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावनाकै उल्लंघन भएको प्रतिक्रिया दिएका छन्।

पछिल्लो समयमा पारित उक्त प्रस्तावनाले उत्तर कोरियामाथि ब्यालेस्टिक क्षेप्यास्त्रको प्रविधि प्रयोग गर्न रोक लगाएको छ।

केही घन्टाअघि मात्र प्योङयाङले अन्ततः यसै साताको उत्तरार्ध वासिङ्टनसँगको निःशस्त्रीकरण वार्ता पुनः शुरू हुने जनाएको थियो।

गत फेब्रुअरीमा भियतनामको राजधानी हनोईमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमबीच भएको वार्ताबिना कुनै निष्कर्ष टुंगिएको थियो।

त्यस बेला ट्रम्पले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी केही हदसम्म खुकुलो पार्न किमले गरेको अनुरोध अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्