पुस्तकमा आप्रवासीलाई गोली हान्नुपर्ने ट्रम्पको भनाइ



वासिङ्टन, (एजेन्सी)।हालै सार्वजनिक भएके एक नयाँ पुस्तकमा अवैध आप्रवासीको प्रवेशलाई मन्द गर्ने उद्देश्यले तिनीहरूका खुट्टामा गोली हान्नुपर्ने भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुझाव उल्लेख गरिएको छ।

न्युयोर्क टाइम्सका दुई जना पत्रकारले ट्रम्पले दक्षिणी सिमाना नाघेर अमेरिका छिर्न खोज्ने आप्रवासीमाथि कडा तरिका अपनाउनुपर्ने बताएको आफूहरूले संयुक्तरूपमा लेखेको सो पुस्तकमा उल्लेख गरेका छन्।

यस्ता कडा सुरक्षा उपायहरूमा सिमानामा काँडेतार वा करेन्ट बग्ने पर्खाल निर्माण वा विषालु सर्प गोही भरिएको पानीको छेकवार राख्ने जस्ता छन्।राष्ट्रपतीय चुनाव प्रचारप्रसारको दौरान नै ट्रम्पले अमेरिका र मेक्सिको बीचको सिमानामा विशाल पर्खाल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए।

सो क्षेत्रमा पर्खाल लगाउने विषयमा लामो समयसम्म ट्रम्पले कंग्रेस र सिनेटमा चुनौती सामना गर्नुपरेको थियो। यद्यपि उनी सीमा क्षेत्रमा थप विशेष फौज परिचाल गर्न सफल भएका थिए।

अहिले अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले सेनाको विकास कोषबाट ३ अर्ब ६० करोड डलर छुट्याएर दिएपछि सो पर्खाल निर्माण कार्य शुरू भएको छ।

यस पुस्तकसम्बन्धी राष्ट्रपति भवन ह्वाइट हाउसले अझैसम्म केही पनि टिप्पणी गरेको छैन। दर्जनौं नाम नखुलाइएका अधिकारीहरूसँग लिइएको अन्तर्वार्ताको आधारमा पत्रकारद्वय माइकल सियर र जुली डेविसले ‘बोर्डर वार्सः इन्साइड ट्रम्पस् एसल्ट अन इमिग्रेसन’ नामक पुस्तक तयार पारेका हुन्।

यस पुस्तक न्युयोर्क टाइम्सले प्रकाशित गरेको हो। यसमा सन् २०१९ को मार्चमा ट्रम्पले दक्षिण आप्रवासलाई अमेरिकातर्फ पूर्णरूपमा बन्देज लगाउन खोज्दाका तथ्यहरू पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्