पटनाका दश हजार बाढी पीडितको उद्धार   



भारत ।

भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन फौजले विहारको पटना क्षेत्रबाट दश हजारभन्दा बढी बाढी पीडितहरूलाई उद्धार गरिएको जनाएको छ ।

विहार प्रदेशको राजधानी पटना क्षेत्रबाट उनीहरूलाई उद्धार गरिएको फौजका प्रमुख विजय सिंहले बुधबार जानकारी दिनुभयो ।

एएनआईसँगको कुराकानीमा उहाँले भन्नुभयो, “हाम्रो फौजले दश हजार जनालाई डुबान भएको ठाउँबाट बाहिर निकालेको छ, उनीहरूलाई राहत सामग्रीहरू पनि वितरण गरिएको छ ।”

उहाँले उद्धार गरिएकाहरूलाई थप खाद्य पदार्थसहित अत्यावश्यक सामग्रीहरूको अभाव भएको पनि बताउनुभयो ।

विगत केहीदिनदेखि यस क्षेत्रमा वर्षा भएको र बाढीबाट हजारौँ प्रभावित भएको समाचार आइरहेको थियो ।

सिंहले अझै पनि पानीको तह पूरै नहटेको बताउनु भयो । उद्धार गरिएकाहरूलाई डुङ्गाबाट उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । “पानी सकिएपछि ट्याक्टरको प्रयोग गर्ने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो ।

भारतको विहारसहित केही प्रदेशहरूमा विगत केहीदिनदेखि आएको अत्यधिक वर्षाका कारण केहीको मृत्यु भएको छ भने हजारौँ विस्थापित र लाखौँ प्रभावित भएका छन् ।
रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्