उत्तर कोरियाद्वारा ११औं पटक अर्को मिसाइल प्रक्षेपण



सिउल । अमेरिकासँग वार्ता गर्न तयार रहेको भनेको केही घण्टामा नै उत्तर कोरियाले बुधबार फेरी अर्को मिसाइल प्रक्षेपण गरेको छ ।

दक्षिण कोरियाका अधिकारीहरुका अनुसार उत्तर कोरियाले प्रक्षेपण गरेको मिसाइल ओन्सन बन्दरगाह नजिकैबाट ९१० किमीको दूरी पार गर्दै जापानी समुद्रमा पुगेको थियो ।

जापानका प्रधानमन्त्री शिन्जो अबेले उत्तर कोरियाको यो काम संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को संकल्प प्रस्तावको उल्लंघन भएको बताएका छन् । सो प्रस्तावमा उत्तर कोरियालाई ब्यालिस्टिक मिसाइल प्रयोगमा रोक लगाइएको छ ।

यो मिसाइल प्रक्षेपण गर्नुअघि उत्तर कोरियाले यो हप्ताको अन्त्यमा अमेरिकासँग वार्ता सुरु हुने संकेत गरेको थियो ।

गएको फेब्रुवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जङ्ग उनबीच बिना कुनै सहमति भियतनामको हनोईमा वार्ता टुंगिएको थियो । उत्तर कोरियाको यो प्रक्षेपण केही महिनाकै अन्तरमा ११औं पटक गरिएको हो । बीबीसी

प्रतिक्रिया दिनुहोस्