इरानलाई नरोके तेलको मूल्य चर्किने : सलमान



रियाद, (एजेन्सी)।साउदी अरेबियाका युवराज मोहमद विन सलमानले सोमबार यदि इरानलाई रोक्न चेतावनी नदिएको खण्डमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अकासिने चेतावनी दिएका छन्।

सलमानले समयमै कदम नचालिने हो भने इरान शक्तिशाली हुने तथा यसबाट युद्ध र विश्वको अर्थतन्त्रसमेत डामाडोल हुन सक्ने बताएका छन्।उनले साउदीका तेल उत्पादन केन्द्रहरूमा पछल्लो समयमा भएको आक्रमणका लागि तेहरानलाई दोष दिएका छन्।

तर, शुरूदेखि नै यमनमा संघर्षरत इस्लामिक लडाकू समूह हुथीले जिम्मेवारी लिएको त्यस हवाई हमलामा इरानले आफ्नो कुनै हात नरहेको अडान लिँदै आएको थियो।इरानले भने युवराज सलमानको टिप्पणी निकै लजास्पद भएको प्रतिक्रिया दिएको छ।

यसै गरि सोमबार सलमानले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी कूटनीतिक नियोगमा भएको पत्रकार जमाल खासोगीको हत्याको केही जिम्मेवार आफूले स्वीकारेको बताएका छन्। तर, आइतबार सीबीएस न्युजलाई एक घन्टा लामो अन्तर्वार्ता दिने क्रममा उनले खासोगीको हत्याका लागि आफैंले आदेश नदिएको स्पष्ट पारेका छन्।

साउदी अरेबियाको छायाँ शासकका रूपमा पनि चिनिने सलमानमाथि व्यक्तिगतरूपमै साउदी सरकारका आलोचक खासोगीको हत्यामा संलग्न रहेको आशंका गरिएको छ। सन् २०१८ को २ अक्टोवरमा खासोगीको रहस्यमय तरिकाले हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्