सिराकको अन्त्येष्टिमा राष्ट्रपति म्याक्रोंको सहभागिता राष्ट्रिय शोक दिवस घोषित



पेरिस, (एजेन्सी)।फ्रान्सको राजधानी पेरिसमा पूर्वराष्ट्रपति ज्याक सिराकको कोफिन हेर्नका लागि सोमबार हजारौं मानिस लाइनमा उभिएका छन्। फ्रान्स सरकारले उनको अन्त्येष्टिको दिन राष्ट्रिय शोक दिवस घोषणा गरेको छ। इन्भ्यालाइड्स स्मारक परिसरमा वर्षाको बाबजुद पनि करिब एक किलोमिटर लामो मानव लाइन देखिन्छ।

गत साता ८६ वर्षको उमेरमा निधन भएका सिराकको अन्त्येष्टिमा वर्तमान राष्ट्रपति इम्मान्युयल म्याक्रोंलगायत अन्य तीन जना सिराकपछिका जीवित राष्ट्रपतिको सहभागिता रहने सरकारी सञ्चारमाध्यमले जनाएको थियो।

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन र रुसी राष्ट्रपति भ्लदिमिर पुटिनलगायतका विश्वका शीर्षस्थ नेताहरूको उपस्थिति रहेको छ। होटेल डेस इन्भ्यालिडेस वरपर उनको शुभचिन्तकको भीड लागेको थियो। एक साताअघिदेखि नै तिनीहरू त्यहाँ जम्मा हुन थालेका हुन्।

उनको जीवनको उत्तरार्ध जीवन भ्रष्टाचार काण्डका कारण अस्तव्यस्त हुन पुगेको थियो। सिराकका ज्वाइँले गत बिहीबार बिहान उनले परिवारका सदस्यहरूको उपस्थितिमा शान्तिपूर्वक देह त्याग गरेको फ्रेन्च समाचार निकाय एएफपीलाई जानकारी गराएका थिए। दुईपटक फ्रान्सको राष्ट्रपतीय कार्यकाल पूरा गरेका तथा दुईचोटी प्रधानमन्त्री भएका सिराकले फ्रान्समा एकल युरोपेली मुद्राको प्रचलन शुरू गरेका थिए।

एक बैंक म्यानेजरका पुत्रका रूपमा सिराकको सन् १९३२ मा जन्म भएको थियो। उनी सन् १९९५ देखि २००७ सम्म फ्रान्सको राष्ट्रपति बनेका थिए। सोसियलिस्ट राष्ट्रपति फ्राँन्स्वाँ मित्तेरापछि लामो समय राष्ट्रपति बन्ने सिराक दोस्रो व्यक्ति हुन्। पदबाट बाहिरिएयता उनको स्वास्थ्यस्थिति झनै नाजुक हुँदै गएको थियो।

फ्रान्सको प्रधानमन्त्रीसमेत बनेका उनीविरुद्ध थुप्रै भ्रष्टाचारका अभियोग लागेको थियो। सन् २०११ मा उनीविरुद्ध राजधानी पेरिसको मेयर पदमा रहँदा सरकारी कोष हिनामिना गरेको अभियोग लगाइएको थियो। उनले फ्रान्सको आन्तरिक राजनीतिका धेरै सुधार गरेका थिए। उनले राष्ट्रपतीय कार्यकाललाई सात वर्षबाट घटाएर पाँच वर्ष बनाएका थिए।

तत्कालीन समयमा फ्रेन्च मतदातहरूले निकै विरोध गरेको युरोपेली संघको संविधान निर्माणमा पनि सिराकको महत्वपूर्ण योगदान रहेको थियो। सन् २००३ मा संयुक्त राज्य अमेरिकाले इराकमाथि आक्रमण गर्दा सिराक विपक्षी राजनीतिक खेमाको विरोधको तारो बनेका थिए।

सन् २००५ मा र २०१४ मा गरी दुईपटक उनलाई हृदयाघात भएको थियो। उनकी पत्नी बर्नाडेटेले उनको स्मरण क्षमतामा समस्या रहेकाले उनले सार्वजनिकस्थलमा नबोल्ने बताउँदै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्