हुथी विद्रोहीद्वारा हजारौं साउदी सैनिक नियन्त्रणमा लिएको दाबी



साना (एजेन्सी)।यमनको हुथी विद्रोहीले ठूलो संख्यामा साउदी अरेबियाका सैनिकलाई कब्जामा लिएको दाबी गरेको छ। साउदी अरेबियाको नाजरान शहरनजिकै साउदी अरेबियाका तीन बिग्रेड सैनिकले आत्मसमर्पण गरेको हुथी विद्रोहीका एक प्रवक्ताले बीबीसीलाई बताए।

नियन्त्रण लिइएका सैनिकको संख्या हजारौंमा रहेको र हुथी विद्रोहीहरूको ३ दिनको अभियानमा साउदी अरेबियामा साउदी अरेबिया गठबन्धन सेनाका कयौं सैनिक मारिएको प्रवक्ताले दाबी गरेका छन्।

साउदी अरेबियाका अधिकारीले हुथी विद्रोहीको उक्त दाबीको पुष्टि गरेको छैन।
हुथी विद्रोहीका प्रवक्ता कर्नेल याहिया सारियाले यमनमा संघर्षको शुरुआत भएपछिको यो अहिलेसम्मकै सबैभन्दा ठूलो अभियान भएको बताए।

साउदी सेनाले आत्मसमर्पण गरेको कर्नेल याहिया सारियाले बताए। उनीहरूले ठूलो परिमाणमा सैनिक तथा युद्धमा प्रयोग हुने हतियार र संयन्त्रहरूको नोक्सान बेहोर्नुपरेको उनले बताए।

हजारौं संख्यामा पक्राउ गरिउका सैनिहरूलाई आइतबार हुथी नियन्त्रणमा रहेको अल मसिराह टेलिभिजन नेटवर्कमा पेरेड गराइने उनले जानकारी दिए।

हुथी विद्रोहीले यसअघि साउदी अरेकियाको तेल संयन्त्रमा हमला गरेको दाबी गरेको थियो। उक्त हमला सेप्टेम्बर १४ मा भएको थियो। यसले विश्वस्तरमा तेल बजार प्रभावित पारेको थियो।

तर, साउदी अरेबिया र अमेरिकाले उक्त हमलाका लागि इरान जिम्मेवार भएको आरोप लगाएका थिए। इरानले ती आरोपलाई गलत भएको बताउँदै अस्वीकार गर्दै आइरहेको छ। यमनको विद्रोही हुथीलाई इरानको समर्थन रहेको मानिन्छ।

यमनमा सन् २०१५ बाट संघर्ष जारी छ, त्यति बेलादेखि हुथी विद्रोहीले राजधानी सानामाथि कब्जा गर्दै आइरहेको छ भने राष्ट्रपति अब्दरबु मन्सुर हादी देश छोडेर भाग्नुपरेको थियो। हुथी विद्रोहीलले उत्तरी यमनको धेरैजसो हिस्सामा कब्जा गरेको छ।

प्रतिक्रिया दिनुहोस्