बार्दलीमा बसेर चुरोट पिउन नपाइने !



मस्को,(एजेन्सी)।रसियाको आपत्कालीन मन्त्रालयले नयाँ अग्निनियन्त्रण कानुनअनुसार अबदेखि आफ्नो अपार्टमेन्टको बार्दलीमा बसेर पनि धुमपान गर्न नपाउने घोषणा गरेपछि रुसी धुमपानकर्ताहरू चिन्तित हुन थालेका छन्।

सो मन्त्रालयले होटेल र छात्रावासका खुला क्षेत्रलगायत सर्वसाधरणका घरका बार्दलीमा समेत धुमपान निषेध घोषणा गरेको हो। सरकारी अधिकारीले सलाई बाल्नु र धुमपान दुवैलाई ‘खुला आगो’ को संज्ञा दिइएको बताएका छन्।

सरकारी विज्ञप्तिमा कवाव वार्वेक्यु र मैनवत्ती पनि बाल्न रोक लगाइएको जनाइएको छ।शुरूमा बार्दलीमा धुमपान निषेध गर्नेबारे अन्योल भएको थियो।

किनभने एउटा नाम चलेकै सुर्ती कम्पनीले नयाँ नियम बार्दलीमा बसेर कवाव पोल्ने जँड्याहामाथि मात्र लागू हुने आधिकारिक दाबी गर्दै आएको थियो। तर, पछि मन्त्रालयका अधिकारीहरूले धुमपानमाथि पनि प्रतिबन्ध लगाइने घोषणा गरेका थिए।

यस नियम नतोड्नेलाई जनही ४७ अमेरिकी डलर जरिवाना गरिनेछ भने यदि धुमपानकै कारण आगलागी भएको खण्डमा थप आपराधिक मुद्दा लगाइनेछ। आगामी १ अक्टोवरदेखि यो नियम कडाइपूर्वक लागू हुनेछ।

रुसका अधिकांश शहरका बासिन्दा आफ्ना घरका बार्दलीमा बसेर चुरोट पिउने गर्दछन्।केही थारैले मात्र लिफ्टबाट तल ओर्लेर खुला ठाउँमा चुरोट पिउने गर्दछन्। जनताले भने चुरोट पिउन प्रयोग गर्न नसकिने बार्दलीको अब के काम भन्दै प्रश्न गरेका छन्।

प्रतिक्रिया दिनुहोस्