नाइजेरियाको भयावह यातना गृहबाट पाँच सयको उद्धार



अवुजा,(एजेन्सी)।प्रहरीले छापा मारेको नाइजेरियाको एक यातना गृहमा बाँच्न सफल एक पीडितले आफू नरक कुण्डमै थुनिएको सञ्चारकर्मीलाई आइतबार बताएका छन्। २९ वर्षीय इसा इब्राहिमले बीबीसीलाई बताएका छन्– ‘प्रार्थना गरिरहे पनि अध्ययन गरिरहे पनि तिनीहरूले पिट्छन्।’

प्रहरीले कादुना शहरस्थित इस्लामिक पाठशाला र सुधार गृहको नाममा सञ्चालित उक्त यातना गृहबाट करिब ५ सय जना पुरुष र बालकलाई उद्धार गरेको छ। प्रहरीले सो स्थान मानव दास राख्ने थलो जस्तै देखिएको र थुप्रै व्यक्तिलाई सिक्रीले बाँधेर राखिएको दाबी गरेको छ।

केही पीडितलाई शारीरिक यातना दिइनुका साथै यौन उत्पीडनसमेत गरिएको बताइएको छ। नाइजेरियास्थिति बीबीसीका पत्रकार इसाक खालिदले उत्तरी नाइजेरियामा रहेको यस पाठशालाको स्थिति निकै दयनीय भएको र यस्ता अन्य पनि धेरै पाठशाला हुनुपर्ने बताएका छन्।

इसाकले नाइजेरियाका अधिकांश गरिब जनताले आफ्ना सन्तानलाई अन्य आधुनिक विद्यालय पठाउन नसकेकाले बाध्यतावश यस्तो अस्तव्यस्त धार्मिक विद्यालय रोज्ने गरेको पनि बताएका छन्। इब्राहिमले करिब दुई साताअघि मात्र आफ्नो बानी–बेहोरा सुधार्ने उद्देश्यले आफ्नो परवारले आफूलाई यस विद्यालयमा भर्ती गरिदिएको बताएका छन्।

उनले प्रहरीले त्यहाँ छापा मार्नु एक दिनअघि नै आफू त्यहाँबाट भाग्न खोजेको पनि बताएका छन्। उनले आफूलाई एउटा पुरानो जेनेरेटरमा सिक्रीले बाँधेर राखेको तथा त्यहाँ हात बाँधेर दलिनमा झुन्ड्याउने निकै डरलाग्दो ‘तार्किला’ नामक सञ्जाय पनि दिइने गरेको बताएका छन्।

उनले आफ्नो शरीरका झन्डै सम्पूर्ण अंगमा चोट लागेको र खानाको नाममा खाली भात मात्र दिने गरिएको पनि बताएका छन्। वर्षौंदेखि सञ्चालित यस पाठशालाबाट उद्धार हुनेमा ५ वर्षीय बालकसमेत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्