अस्ट्रेलियामा रगतसहितको प्याड विवादमा



सिडनी, (एजेन्सी)।अस्ट्रेलियाको विज्ञापन सेन्सर निकायले पहिलो पटक अस्ट्रेलियाको टेलिभिजनमा प्रशारित एउटा विज्ञापनमा रजश्वलाको बेला लगाउने स्यानिटरी प्याडमा रगतको धब्बा देखाएर प्रशारणसम्बन्धी कुनै नियम उल्लंघन नगरेको बुधबार जनाएको छ।

गत महिना प्रशारित उक्त विज्ञापनमा स्यानिटरी प्याड ब्रान्ड लिब्राले रगतको टाटासहितको प्याड र महिलाको खुट्टामा रगत देखाएको थियो।

दर्शकहरुले त्यस व्यावसायिक विज्ञापनको प्रस्तुति अनुपयुक्त भएको भन्दै ६ सयवटा भन्दा बढी गुनासो दर्ता गरेका थिए।

सन् २०१९ मा अहिलेसम्म कुनै पनि टेलिभिजन विज्ञापनमा यति धेरै संख्यामा प्रतिक्रिया आएको यो पहिलोपटक हो। अस्ट्रेलियाको उद्योग नियमन निकायले पनि यस विज्ञापनले स्पष्ट रूपमा सही सन्देश प्रवाह गर्न खोजेको दाबी गरेको छ।

सेन्सर तथा विज्ञापन गुणस्तर निर्धारण निकायले यस विज्ञापनले लैंगिक समानतालाई प्रवद्र्धन गर्दै रजश्वलाको रहस्योद्घाटन गर्न खोजेको जनाएको छ।

लिब्राको माउ कम्पनी एसालियो केयरले पनि यस विज्ञापनले थुप्रै महिला तथा बालिकाहरुले अहिलेसम्म बोक्दै आएको लज्जा र परम्परागत सामाजिक बन्देजको भावनालाई समाधान गरिदिएको सकारात्मक अभिव्यक्ति दिएको छ।

उक्त विज्ञापनमा शाब्दिक नारा, ‘रजश्वला हुनु सामान्य घटना हो। यसलाई प्रदर्शन गर्नु पनि सामान्यै कुरा हो।’ देखाइएको थियो।

आधिकारिक रूपमा गुनासो गर्नेहरुले विज्ञापन अनुपयुक्त, अपमानजनक र घिनलाग्दो भएको बताएका थिए। साथै तिनीहरुले यो बालबालिकाका लागि हेर्न लायक नभएको पनि बताएका थिए।

प्रतिक्रिया दिनुहोस्