शान्तिवार्ताका लागि ढोका खुल्ला ः तालिवान



कावुल, (एजेन्सी)। अफगानिस्तानमा संघर्षरत लडाकू समूह तालिवानले यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा पुनः शान्तिवार्ता थालनी गर्न चाहेको खण्डमा आफ्नोतर्फबाट सधंै ढोका खुल्ला रहेको बीबीसीलाई बुधबार जानकारी दिएको छ।

बीबीसीलाई महत्वपूर्ण अन्तर्वार्ता दिने क्रममा तालिवानका प्रमुख वार्ताकार सेर मोहमद अब्बास स्तानिक्जाइले अफगानिस्तानमा शान्ति स्थापनाका लागि एक मात्र विकल्प भनेकै वार्ता भएको बताएका छन्।

एक साताअघि मात्र ट्रम्पले तालिवानसँगको वार्ता मृत अवस्थामा पुगेको दावी गरेका थिए। यसै महिनाको शुरुमा अमेरिका र तालिवान अफगानिस्तानको अठार वर्ष लामो युद्ध अन्त्यका लागि सम्झौताको नजिक पुगिसकेका थिए।

ट्रम्पले ८ सेप्टेम्बरमा भेटघाटका लागि वरिष्ठ तालिवान नेताहरु र अफगानी राष्ट्रपति असरफ घानीलाई अमेरिकाको क्याम्प डेविडमा आमन्त्रण गरेका थिए।

तर ६ सेप्टेम्बरमा अफगान राजधानी कावुलमा तालीवानबाट भएको आक्रमणमा एकजना अमेरिकी सैनिक र अन्य एघारजना व्यक्तिको ज्यान गएपछि ट्रम्प अचानक वार्ताबाट पछि हटेका थिए।

ट्रम्पले वार्ताको समयमा समेत युद्ध विराम गरी तालिवानले धैर्यता देखाउन नसकेको आरो पलगाएका थिए। यसैबीच मंगलबार राति अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले एउटा विज्ञप्तिमार्फत तालिवान पक्षबाट पछिल्ला समयमा भइरहेका आक्रमणको भत्सर्ना गुर्नका साथै तालिवानले शान्तिप्रतिको सक्कली व्यवहार देखाउनुपर्ने बताएका छन्।

यता स्तानिक्जाइले बीबीसीलाई भनेका छन्– ‘अमेरिकीहरुले हजारौं तालिवानलाई मारेका छन्। यता एकजना अमेरिकी सैनिक मारिएकोमा तिनीहरुले त्यत्रो प्रतिक्रिया देखाउनु आवश्यक थिएन। किनभने दुवै पक्षबाट औपचारिक युद्धविराम घोषण पनि भएको थिएन।’

 

प्रतिक्रिया दिनुहोस्