तालिवान प्रतिनिधिमण्डल रुसी अधिकारीबीच वार्ता



मस्को, (एजेन्सी)। अमेरिका र तालिवानबीच शान्ति वार्ता रद्द भएपछि अब रुसले तालिवानसँग सम्पर्क बढाइरहेको छ। तालिवानका एक प्रतिनिधिमण्डल वार्ताका लागि रुसको राजधानी मस्कोमा पुगेका छन्। उनीहरुले रुसका अधिकारीहरुसँग वार्ता गरेका छन्।

कतारस्थित तालिवान प्रवक्ता सुहेल शाहिनले उक्त बैठकको पुष्टि गरेका छन्। रुसमा विशेष दूत जामिल कबुलोवसँग तालिवानका प्रतिनिधिमण्डलसँग भेटवार्ता भएको उनले बताए। यो बैठक रुसको राजधानीमा आयोजना भएको हो।

यसअघि अमेरिका र तालिनवानबीच बिगत कयौं महिनादेखि भइरहेको वार्ता शान्ति सम्झौतामा पुग्न लागेको र सम्झौताको अन्तिम चरणमा पुगिसकेको चर्चा भइरहेको थियो।

यसका लागि एक प्रारूप पनि तयार गरिसकेको थियो। उक्त मस्यौदालाई अफगानिस्तानमा रहेका अमेरिकी दूत जलमय खलिलजादले अफगान राष्ट्रपति अरसफ घानीसमक्ष पनि राखेका थिए।

तर अचानक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त शान्ति सम्झौता रद्द गरेका थिए।यस स्थितिमा अब रुस र तालिवानबीच निकटता बढिरहेको छ।

रुसका तर्फबाट तालिवानसँगको भेटवार्ताको पहल महत्वपूर्ण मानिएको छ। रुसी प्रशासनले तालिवानलाई बैठकका लागि निमन्त्रणा दिएपछि तालिवानले आफ्नो प्रतिनिधिमण्डललाई मस्को पठाएको हो। यसअघि पनि तालिवान प्रतिनिधिहरु धेरैपटक रुस गएका छन्।

अमेरिका पछि हटेको समयमा रुसको यो पहलले अफगानिस्तानमा मस्कोको प्रभावलाई लिएर पश्चिमी मुलकहरु सजक भएका छन्। यसअघि पनि रुसको पहलमा अफगान सरकार र तालिवानबीच बेलारुसको मिन्स्कमा वार्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस्