८१ वर्षे वृद्धको भेषमा अमेरिका उड्न खोज्‍दा…



काठमाडौं, वृद्धको भेषमा नक्कली पासपोर्ट बोकेर अमेरिका उड्न खोज्ने एक भारतीय पक्राउ परेका छन्। ८१ वर्षे वृद्धको भेषमा नक्कली पासपोर्ट बोकेर जहाज चढ्न लागेका व्यक्ति नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको अधिकारीहरूलाई उद्‍धृत गर्दै बीबीसीले जनाएको छ।

पक्राउ पर्ने व्यक्ति ३२ वर्षीय जयश पट्टेल रहेको समाचारमा जनाइएको छ। ठूलो चस्मा, टाउकोमा फेटा र सेतै दाह्रीमा देखिएका यी व्यक्ति ह्विचचेयरमा बसेर सुरक्षा घेरा पार गरी अध्यागमनमा पुगिसकेका थिए। तर विमानस्थलका सबै अधिकारीलाई उनले मुर्ख बनाउन सकेनन्।

उनी वृद्ध जस्ता थिएनन्, उनको छाला त्यस्तो देखिँदैनथ्योु, एक सुरक्षा अधिकारीले सीएनएनसँग भनेका छन्।

पछिल्लो सुरक्षा जाँचका क्रममा जब पट्टेलले खानतलासीका क्रममा आफू उभिन नसक्ने भन्दै चेकजाँच गर्न मानेनन् तब अधिकारीहरूले उनीमाथि शंका गरेका थिए।

जब उनीसँग कागजात माथियो, तब उनले अम्रिक सिंह नाम भएको पासपोर्ट उनले सुरक्षा अधिकारीहरूलाई दिए। त्यसमा उनको जन्ममिति १९३८ फेब्रुअरी १ लेखिएको थियो। ‘पासपोर्टमा लेखिएको भन्दा उनको छालाको बनोट र शारीरिक अवस्था अर्कै देखिन्थ्यो’ प्रवक्ताले भनेका छन्।

सोधपुछका क्रममा पट्टेलले वृद्धको भेषमा नक्कली पासपोर्ट बनाएर अमेरिका जान लागेको स्वीकारेका थिए। उनलाई पक्राउ गरी अध्यागमन अधिकारीलाई बुझाइएको छ।

गुजरातका पटेललाई एकजना दलालले नक्कली पासपोर्ट बनाएर अमेरिकाको भिसासम्म मिलाइदिएको प्रारम्भिक अनुसन्धानमा खुलेको एनडीटीभीले जनाएको छ। पटेल जागिरका लागि अमेरिका जान लागेको समाचारमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्