हस्तकलाले अर्थतन्त्र भित्र्याउन सहयोग गर्छः मन्त्री भट्टराई


ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा निर्मित विभिन्न हस्तकलाका सामग्रीले आउँदो भ्रमण वर्ष २०२० सफल बनाउन निकै सहयोग गर्ने बताउनुभएको छ ।

सार्क कल्चरल सेण्टरले आयोजना गरेको ‘सार्क हस्तकला प्रदर्शनी’ उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालमा निर्माण भएका सबै प्रकारका बेजोड हस्तकलाका सामग्रीले मुलुकमा अर्थतन्त्र भित्र्याउन एक सहयोगी भूमिका खेलिरहेको र यिनलाई विदेशका विभिन्न मुलुकका साथै नेपालका विकट क्षेत्रमा पनि लोकप्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले हस्तकला एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुनैपर्ने तथा यसको अध्ययन र अवलोकनमा जोड दिन आग्रह गर्नुभयो । संस्कृति मन्त्रालय, संस्कृति महाशाखाका उपसचिव मङ्गला प्रधानले नेपालको संस्कृति संरक्षणमा चार दिनसम्म चल्ने निःशुल्क प्रदर्शनीले निकै सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । “सार्क सेन्टरले वर्षैपिच्छे विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ ”, प्रधानले भन्नुभयो, “ गत वर्ष यसै अवसरमा हामीले शास्त्रीय नृत्य प्रदर्शनी गरेका थियौँ ।”

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ललितपुर हस्तकला निर्माणको विभिन्न इतिहास बोकी विश्व सामु परिचित भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ काठमाडौँ उपत्यकाका तीन शहरमध्ये पाटन हस्तकला निर्माणमा अघि रहेकाले केही समयअघि युनेस्कोले यसलाई ३५ औँ हस्तकला नगरी घोषणा गरिसकेको छ ।” प्रदर्शनीमा ३४ कक्ष छन् ।

हस्तकलाको खुला सङ्ग्रहालय ललितपुर मङ्गल बजारमा भएको प्रदर्शनीमा नेपाल, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश, भुटान र अफगानिस्तानका हस्तकलाकर्मीले भाग लिएका छन् ।
रासस