७३ वर्षीया महिलाले पाइन् जुम्ल्याहा



नयाँदिल्ली, (एजेन्सी)।दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा एकजना ७३ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छिन्। डाक्टरहरूले आईभीएफ उपचार प्रविधिबाट बिहीबार ती जुम्ल्याहालाई जन्म दिएका थिए।

महिला डाक्टर उमा शंकरले आमा र बच्चाह सबैको स्वास्थ्य स्थिति राम्रो रहेको बीबीसी तेलुगुलाई बताएकी छिन्। ७३ वर्षीया मान्गायाम्मा यारामातीले उनी र उनका ८२ वर्षीय पतिले लामो समयदेखि सन्तान पाउने चाहना गरेको बताएकी छिन्।

उनका पति सितारामा राजारावोले पनि सन्तान प्राप्त भएकोमा आफूहरू निकै खुसी भएको बीबीसीलाई बताएका छन्। तर सन्तान पाएको भोलिपल्टै अचानक बिरामी परेका राजारावोको ेअहिले अस्पतालमा उपचार भइरहेको छ।

यस्तो बुढेसकालमा दुवैलाई केही भइहालेको खण्डमा सन्तानलाई कसले पालनपोषण गर्ला भनी सोधिएको प्रश्को जवाफमा राजारावोले भनेका छन– ‘केही पनि हाम्रो हातमा छैन। जे हुनु छ भइहाल्छ। सबै भगवानको हातमा छ।

गाउँमा निसन्तान भनी निकै हेला गरिने भएकाले पनि बच्चा पाउनु आफूहरुका लागि अत्यावश्यक रहेको तिनीहरूले बताएका छन्। यारामातीले भनिन्– ‘तिनीहरूले मलाई बाँझी आइमाई भनेर हेप्ने गर्दथे।

हामीले थुप्रै डाक्टरलाई जचायौं। अन्ततः हाम्रो इच्छा पूरा भएको छ।’ सिजरिङ विधिबाट ती बच्चालाई जन्म दिइएको हो। सन् २०१६ मा पनि करिब सत्तरी वर्षीया दालिजन्दर कौर नामक भारतीय महिलाले छोरा जन्माएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्