चिदम्बरमलाई तिहाड जेल



नयाँदिल्ली, (एजेन्सी)।आईएनएक्स सञ्चारमाध्यम मामिलामा अदालतले पूर्वकेन्द्रीय मन्त्री पी चिदम्बरमलाई सेप्टेम्बर १९ सम्म न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ।

सीबीआई कोर्टका विशेष न्यायाधीश जर्ज अजयकुमार कुहारले उक्त आदेश दिएका हुन्। यसको अर्थ अब चिदम्बरम तिहाड जेल जानुपर्नेछ। पी चिदम्बरमलाई सीबीआईले अगस्ट २१ मा गिरफ्तार गरेको थियो। त्यसपछि अहिलेसमम उनले १५ दिन हिरासतमा बिताइसकेका छन्।

पी. चिदम्बरमले ट्रायल अदालतसमक्ष एक याचिका दायर गर्दै न्यायिक हिरासतमा रहकै बेला पनि जेल अधिकारीहरूलाई उनको सुरक्षा व्यवस्थाका लागि निर्देशन दिन माग गरेका थिए।

साथै आफूलाई जेलभित्र पश्चिमी ट्वाइलेटको सुविधा भएको अलग्गै सेलमा राख्न पनि उनले माग गरेका थिए। उनको याचिकामा विशेष अदालतले चिदम्बरमलाई अलग सेलमा राख्न आदेश दिएको छ। उनलाई जेड सेक्युरिटी प्राप्त भएकाले जेलमा पनि सुरक्षाको व्यवस्था गर्न भनेको छ।

चिदम्बरमलाई तिहाड पठाउने फैसलापछि उनका समर्थकले तिहाड जेलबाहिर मोदी सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। मोदी सरकारले चिदम्बरमविरुद्ध झूटो मुद्दा लगाएको र यो मोदी सरकारको राजनीतिक बदला भएको प्रदर्शनकारीले बताए।

 

प्रतिक्रिया दिनुहोस्