ट्रेलरमा आयो शिवा



सामाजिक विषयवस्तुमा निर्मित फिल्म शिवा – द लिडरको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फस्ट लुक पोस्टरसँगै ट्रेलर सार्वजनिक गरिएको छ।
अभिनेता ज्याक श्रेष्ठ (राजु)द्वारा निर्मित फिल्म आगामी मंसिर २७ गते रिलिजमा आउँदै छ।

फिल्मको ट्रेलरमा एक्सन, लभ, कमेडी तथा सेन्टिमेन्टस्को सम्मिश्रण प्रस्तुत गरिएको छ। हिमश्री फिल्मस्को ब्यानरमा सुकराज विक र मदन खत्री निर्माता तथा सुनीता तामाङ र सुदर्शन बस्नेत कार्यकारी निर्माता रहेको फिल्ममा रामकाजी घिमिरेको लेखन र निर्देशन रहेको छ।

यसको गीतमा वसन्त सापकोटाको संगीत, कमल राई र लिगेश भट्टराईको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र राजु ढुंगानाको सम्पादन रहेको छ। श्रीराम बालाजी फिल्म्स्ले वितरण गर्ने फिल्ममा किशोर खतिवडा शीर्ष भूमिकामा छन् भने उनलाई साथ दिने सञ्चिता लुइँटेल पत्रकारको भूमिकामा प्रस्तुत भएकी छिन्।

फिल्ममा किशोर र सञ्चिताका साथमा पूर्णिमा लामा, ध्रुव कोइराला, ज्याक श्रेष्ठ, देव श्रेष्ठ, सपना श्रेष्ठ, होम दवाडी, शम्भु गहतराज, निश्चल दाहाललगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्ममा बेरोजगारी समस्या, वन्यजन्तु तस्करी, भूमाफियालगायतका विविध विषय उठान गरिएको निर्देशक घिमिरेले बताए। उनले शिवा नेपाली समाजको ऐना भएको दाबीसमेत गरे। फिल्मका प्रस्तुतकर्ता ज्याकले आफूले धेरै संघर्ष र मिहिनेत गरेर फिल्म तयार पारेको दाबी गर्दै यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।

अर्का निर्माता सुकराजले आफ्नो फिल्ममा मनोरञ्जनका साथै समाजोपयोगी सन्देशसमेत रहेको बताए।

प्रतिक्रिया दिनुहोस्