विद्यालय बाहिरको हमलामा आठ विद्यार्थी मारिए



बेइजिङ, (एजेन्सी)। चीनको एउटा प्राथमिक विद्यालयबाहिर भएको एक आक्रमणमा मंगलबार आठ बालबालिका मारिएका छन्। गर्मीबिदा मनाएर पहिलोपटक विद्यालयमा आएका तिनीहरू आक्रमणको शिकार भएका सरकारी समाचार निकाय सिन्ह्वाले जनाएको छ।

प्रहरीले मध्यचीनको हुवेई प्रान्तमा भएको यस हमलालाई लिएर एक ४० वर्षीय पुरुषलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको जनाएको छ। अधिकारीहरूले ती बालबालिकाको कसरी हत्या भयो भन्ने खुलाएका छैनन्। साथै तत्काल आक्रमणकारीको उद्देश्य पनि स्पष्ट हुन सकेको छैन।

पीडितहरूको उमेर पनि खुलाइएको छैन। तर, सो विद्यालयमा अध्यन गर्ने बालबालिकाको उमेर ६ देखि १३ वर्षको रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। केही वर्षयता चीनका विभिन्न विद्यालयमा पटक–पटक बालबालिकामाथि आक्रमण हुने गरेको सरकारी तथ्यांकमा उल्लेख छ।

गत वर्षको अप्रिलमा उत्तरपश्चिमी चीनको सान्सी प्रान्तको एउटा माध्यमिक विद्यालयबाट घर फर्किरहेका नौ जना विद्यार्थीको छुरा प्रहार गरी हत्या गरिएको थियो। उक्त घटनामा दोषी ठहरिएका २८ वर्षीय सोही विद्यालयका पूर्वविद्यार्थी झाओ जेवेईलाई मृत्युदण्ड दिइएको थियो।

त्यसै गरी गत जनवरीमा दक्षिणी प्रान्त गुआङ्ग्सीको एउटा नर्सरीमा छुराले आक्रमण गरी चार जना बालबालिकालाई घाइते बनाउने क्विन पेन्गान नामक पुरुषलाई पनि मृत्युदण्ड दिइएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्