अफगानिस्तानबाट अमेरिकाले फौज फर्काउने



वासिङ्टन, (एजेन्सी)। तालिवान लडाकूसँग भएको सैद्धान्तिक सम्झौताअनुसार संयुक्त राज्य अमेरिकाले आगामी २० साताभित्र अफगानिस्तानबाट आफ्नो ५ हजार ४ सय फोज फिर्ता लैजाने कुरा वासिङ्टनका प्रमुख वार्ताकारले मंगलबार बताएका छन्।

अफगान नेताहरूलाई सम्झौता सम्बन्धमा आवश्यक जानकारी दिइसकेपछि जाल्मे खलिलजादले एउटा टेलिभिजन अन्तर्वार्तामा पहिलोपटक लामो समयदेखि प्रतिक्षित सम्झौताबारे विस्तृत विवरण खोलेका थिए।

तर, उनले यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम अनुमोदन बाँकी नै रहेको पनि बताएका थिए। यो अन्तर्वार्ता प्रसारण भइरहेका बेला अफगानिस्तानको राजधानी काबुलमा ठूलो बम विस्फोट भएको थियो।

कम्तीमा १६ जनाको ज्यान जाने गरी र अन्य १ सय १९ जना घाइते हुने गरी भएको यस विस्फोटका लागि तालिवान लडाकू समूहले जिम्मेवारी लिएको छ। तालिवानले विदेशी फौजलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। विदेशीहरू बस्ने गरेको एउटा आवास परिसरमा भएको यस बम आक्रमणमा बन्दुकधारी पनि सरिक रहेको तालिवानले जनाएको छ।

यस आक्रमणले तालिवान र अमेरिकी सरकारबीचको वार्ताको बाबजुद पनि दैनिकरूपमा अफगानिस्तानमा हुने ह्सिंा रोकिने छाँट नरहेको देखाएको छ। यस्ता आक्रमणमा निर्दोष सर्वसाधारणको पनि ज्यान जाने गरेको छ।

सन् २००१ मा अमेरिकी फौजले अफगानिस्तानमा गरेको सुरक्षा कारबाहीका दौरान ततकालीन तालिवान सरकार अपदस्थ गरिएको थियो। त्यसयता अहिले आएर तुलनात्मकरूपमा तालिवान लडाकूले सबैभन्दा बढी भू–भागमाथि कब्जा गरेको स्थिति छ। तालिवानले अफगान सरकारलाई अमेरिकी कठपुतलीको आरोप लगाउँदै अहिलेसम्म वार्ता गर्न अस्वीकार गर्दै आएका छन्।

खाडी मुलुक कतारमा भएको नवौं चरणको शान्तिवार्ताको उपलब्धिस्वरूप मानिएको यस सम्झौताबारे खालिलजादले तोलो न्युजलाई अन्तर्वार्ताको क्रममा बताएका हुन्। अमेरिकी फौजलाई स्वदेश फर्काइएबापत तालिवानले अफगानिस्तानलाई फेरि कहिल्यै लडाकू समूहको अखडा नबनाउने तथा अमेरिकी तथा त्यसका गठबन्धनलाई हमला नगर्ने विश्वास दिलाउनुपर्ने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्