बेलायतका उडान प्रभावित



लन्डन, (एजेन्स) ।फ्रान्सको हवाई क्षेत्रमा देखिएका समस्याका कारण संयुक्त अधिराज्यतर्फ आउने तथा त्यहाँबाट उड्ने केही उडान ढिलाइ भइरहेका वा रद्द गरिएको आइतबार सरकारी अधिकारीले बताएका छन्।

ब्रिटिस एयरवेजले एयर ट्राफिक कन्ट्रोल ‘ओटेज’ले फ्रान्स तथा स्पेनको आकाश भएर उड्ने उडान प्रभावित भइरहेका पुष्टि गरेको छ। यसै गरी इजिजेटले फ्रेन्च एयर ट्राफिक कन्ट्रोल सिस्टममा आएको आंशिक अवरुद्धताका कारण उडानमा कठिनाइ भइरहेको जनाएको छ।

तर, फ्रान्सको पेरिस विमानस्थलले ट्विटर गरेको छ– ‘उडान योजनाहरूको केन्द्रीकरणसँग सम्बन्धित राष्ट्रिय कम्प्युटर फेलियरको आइतबार बिहान समाधान भइसकेको छ।’ तैपनि पेरिस विमानस्थलले अझै पनि उडान प्रभावित हुन सक्ने अनुमान गरेको छ।

मेसनल एयर ट्राफिक सर्भिसेज (एनएटीएस)ले अहिलसम्म कतिवटा उडान प्रभावित भए भन्ने यकिन भइनसेको तथा बेलायतका एयरलाइनहरूसँग समस्या न्यूनीकरणका लागि निरन्तर समन्वय भइरहेको जनाएको छ। बेलायतको गेटविक विमानस्थलले विमानस्थलमा आउनुअघि एयरलाइनसँग उडानबारे पूर्वसूचना लिन यात्रुलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्