टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा पाँच मारिए



ह्यूस्टन ,(एजेन्सी)।अमेरिकाको टेक्सासमा एक महिना भित्रै दोस्रो पटक भएको गोली काण्डमा कम्तिमा पाँचजना व्यक्तिको ज्यान जानुका साथै अन्य थुप्रै घाइते भएको प्रहरीले जनाएको छ। मिडल्यान्ड र ओडेस्सा शहरबीच बन्दुकधारीको कार रोक्ने क्रममा सबैभन्दा पहिले एकजना प्रहरी अधिकारीलाई गोली हानी मारिएको थियो। त्यसपछि उनले बोटोमा भेटेजति सावारी साधन चलाउने र अन्य बटुवामाथि अन्धाधुन्द गोली चलाएका थिए।

एक निश्चित स्थानमा पुगेपछि उनले आफ्नो कार त्यागेर हुलाक सेवाको ट्रक चढेर पुन उपद«ो मच्चाएका थिए। उनलाई लखेट्दै गएको प्रहरी टोलीले अन्तत उनलाई एउटा सिनेमा कम्प्लेक्समा गोली हानेर मारेका थिए। करिब ३० वर्ष उमेरका गोरा जातिका ती बन्दुकधारी पुरुषको आक्रमणको उद्देश्य खुल्न सकेको छैन।

चार साताअघि टेक्सकाकै एल पासो शहरमा एकजना बन्दुकधारीले अचानक अन्धाधुन्द गोली चलाउँदा २२ जना मानिसको ज्यन गएको थियो। पछिल्लो घटनामा घाइते हुने करिब २१ जना मध्ये तीनजना प्रहरी रहेका छन्। तर प्रहरीले घाइते मध्ये सबैलाई गोली नलागेको तथा तिनीहरू मध्ये केहीलाई कारको ऐना फुट्दा चोट लागेको बताएको छ।

यस घटनामा गोलीको छर्रा लागेका एकजना १७ महिने शिशुलाई हवाई मार्गबाट ओडेस्सा मेडिकल सेन्टर अस्पतालमा पुर्याइएको थियो। घाइते मध्ये सातजनाको स्थिती चिन्ताजनक रहेको बताइएको छ।स्थानीय समयअनुसार शनिबार अपराह्न तीन बजे टेक्सास जन सुरक्षा विभागका दुईजना अधिकारीले मिडल्यान्ड राजमार्गमा एउटा कार रोक्न खोज्दा अचानक त्यसका ड्राइभरले तिनीमाथि गोली हानेर भागेका थिए।

ट्वीटरमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोलीकाण्डका बेला आफूलाई एक एक घटनाको सूचना प्राप्त भइरहेको जानकारी दिएका छन्। पछि उपराष्ट्रपति माइक पेन्सले आफू र ट्रम्प सरकार कंग्रेसका दुइवटै पार्टीका नेताहरसँग मिलेर राष्ट्रमा फैलिरहेको हिंसा विरुद्ध लड्न तयार रहेको बताएका थिए।

टेक्सासका महान्यायधिवक्ता केन प्याक्सटनले यस्तो विवेकहीन कार्य देखेर आफू भयभित भएको टिप्पणी गरेका छन्। यसैगरी टेक्सासका गवर्नर ग्रेग एब्बोटले कुनै पनि व्यक्तिलाई यस राज्यमा घृणा र हिंसा फैलिन नदिने तथा सदाझैं यसपालिको दुःखद् घटना पनि सम्पूर्ण टेक्सासवासीले एकजुट भएर सामना गर्ने
बताएका छन्।

प्रतिक्रिया दिनुहोस्