नाइजेरिया पोलियो मुक्त घोषित हुने स्थितिमा



अबुजा, (एजेन्सी)।विगत तीन वर्षदेखि नाइजेरियामा पोलियोको कुनै घटना देखापरेको छैन। त्यसैले अफ्रिकी मुलुक नाइजेरिया अब झण्डै पोलियो मुक्त राष्ट्र घोषणा हुने स्थितिमा पुगिसकेको छ। विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) का अनुसार सन् २०१२ सम्म विश्वभरिका पोलियोका घटनाका पचास प्रतिशतभन्दा बढी यहीँ फेला पर्ने गरेको थियो।

डब्ल्यूएचओले निकै नाटकीय ढंगले पोलियो नियन्त्रणमा आएको पाइएको जनाएको छ। प्राथमिक स्वास्थ्य स्याहार निकायका अध्यक्ष डाक्टर फैसल सुआइवले नाइजेरिया ऐतिहासिक कोशेढुँगामा पुगिसकेको बताएका छन्।

तर अझै पनि नाइजेरियालाई औपचारिक रुपमा पोलियो मुक्त मुलुक घोषणा गरिन महिनौं लाग्न सक्ने विशेषज्ञहरू बताउँछन्। सो दर्जा पाउन आवश्यक पहिलो प्रक्रिया अर्थात तीनवर्षसम्म लगातार पोलियो नदेखिनुपर्ने प्रक्रियामा नाइजेरिया उत्तीर्ण भइसकेको छ।

नाइजेरियाको पोलियो उन्मुलन समितिका अध्यक्ष डाक्टर तुन्जी फुन्सोले बीबीसी न्युजडेलाई भनेका छन्, ‘ नाइजेरियामा अब डब्ल्युएचओले डरलाग्दो पोलियोको भाइरस अझै बाँकी छ कि छैन भन्ने शसक्त अनुगमन प्रणाली खडा गर्नुपर्ने हुन्छ।’

अफ्रिकामा पोलियोका घटना देखिएको नाइजेरिया अन्तिम मुलुक बनेको थियो। नाइजेरियाको उत्तरपूर्वी भागको बोर्नो राज्यमा पोलियो देखिएको थियो। नाइजेरियाभन्दा पहिले अन्तिमपटक पोलियो देखि ने मुलुकमा सोमालिया रहेको थियो। सन् २०१४ मा सोमालियाको फुटल्यान्ड क्षेत्रमा अन्तिम पटक पोलियो देखापरेको थियो।

नाइजेरियाको उत्तरपूर्वी भागमा पोलियोविरुद्धको खोप अभियान कार्यक्रममा राजनीतिक अस्थिरताका कारण खतरामा परेको थियो। त्यहाँ शसस्त्र संघर्ष गरिरहेका कटरपन्थी इस्लामिक लडाकू समूह बोको हरामले पोलियो नियन्त्रण अभियानका प्रमुख बाधकमध्ये एक सावित भएको थियो।

तर नाइजेरियाका सरकारी अधिकारीहरूले राजनीतिक समर्थन र आवश्यक आर्थिक सहयोगको उपलब्धताका कारण सो अभियानलाई ठूलो टेवा पुगेको बताउँछन्। डब्ल्यूएचओका अनुसार सन् २०१८ मा विश्वका केवल दुईवटा मुलुक अफगानिस्तान र पाकिस्तानमा गरी कूल ३३ जना मानिसमा मात्र पोलियो देखापरेको थियो। अफ्रिकामा पोलियो उन्मुलनका लागि खोप अभियानमा हजारौ स्वयमसेवकहरू ज्यानको परवाह नगरी लागि परेका थिए।

 

प्रतिक्रिया दिनुहोस्