११ सेप्टेम्बर हमलाका अभियुक्त विरुद्ध मुद्दा तय



न्युयोर्क, (एजेन्सी)। सन् २००१ को ११ सेप्टेम्बरमा अमेरिकाका विभिन्न स्थानमा हजारौं व्यक्तिको ज्यान जाने गरी भएका आत्मघाती तथा आतंककारी विमान हमलाका सूत्रधार खालिद शेख माहमद विरुद्धको मुद्दाको तिथि तय भएको छ।

अन्तर्राष्ट्रिय आतंककारी समूह अल कायदाका तत्कालिन नाइके ओसामा विन लादेनको निर्देशनमा अमेरिकाका ट्विन टावरलगायतका स्थानमा आक्रमण भएको थियो।
आगामी सन् २०२१ को ११ जनवरीमा गुआन्तानामो बेको एक सैनिक अदालतमा मोहमद र अन्य चारजना पुरुषविरुद्ध मुद्दा चलाइने बताइएको छ।

तिनीहरूविरुद्ध आतंकवाद, झण्डै ३ हजार व्यक्तिको हत्यालगायत अन्य युद्ध अपराधको अभियोग लगाइएको छ। अमेरिकाका न्युयोर्क, वासिंगटन र पेनसिल्भानियामा आक्रमण भएको झण्डै २० वर्षपछि पहिलोचोटि उक्त आक्रमणको सिलसिलामा मुद्दा चलाइन लागेको हो।

यदि अभियोग सावित भएको खण्डमा यिनीहरू पाँचैजनालाई मृत्युदण्ड हुनेछ। मोहमदलाई सन् २००३ मा पाकिस्तानमा गिरफ्तार गरिएको हो। त्यसपछि उनलाई क्युवाको अमेरिकी गुआन्तानामो सैनिक शिविरमा पठाइएको हो। तर तिनीहरूविरुद्धको कानुनी कारबाहीमा निकै ढिलाइ हुन पुगेको हो।

सन् २००८ मा एक सैनिक अदालतसामू मुद्दा चलाइन लाग्दा मोहमदले आफू अपराध स्वीकारेर शहीद बन्ने सोचमा रहेको बताएका थिए। सन् २००९ मा ओवामा सरकारले गुआन्तानामो अखडा बन्द गरी मुद्दालाई न्युयोर्कमा ल्याउने प्रयास गरेको थियो। तर कंग्रेसको विरोधका कारण सरकारले सो निर्णय त्याग्नुपरेको थियो।

तिनीहरूविरुद्ध सन् २०११ मा जर्ज डब्ल्यु बुशको सरकारले औपचारिक रुपमा मुद्दा दायर गरिएको थियो। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मोहमदले सन्. २००१ को सो हमलाका लागि सम्पूर्ण रुपमा आफू जिम्मेवार रहेको स्वीकारेको तथ्य बाहिर ल्याएको थियो।

अमेरिकी सरकारी वकिलहरूले मोहमद अन्य आतंककारी गतिविधिका पनि सूत्रधार रहेको आरोप लगाएका छन्। ती गतिविधिमा सन् २००२ मा इन्डोनेसियाको बालीस्थित एक रात्रिक्लब भएको बम विस्फोट, सन् १९९३ को वल्र्ड ट्रेड सेन्टरमा भएको बमकाण्ड, अमेरिकी पत्रकार ड्यानियल पर्लको हत्या तथा सन् २००१ को एउटा जुत्तामा राखिएको बममार्फत विमान उडाउने असफल योजना रहेका छन्।

आगामी मुद्दाका लागि सुनुवाइको काम भने आगामी महिना हुने बताइएको छ। मोहमदले क्युबामा हिरासतमा आफूलाई पटक–पटक यातना दिइएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्